काठमाडौं– मुगुबाट सुर्खेतका लागि छुटेको जीप दुर्घटनामा परेको छ। भे१छ ४४१२ नम्बरको उक्त जीप कालीकोटको तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
जीप दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ।
मृत्यु हुनेहरूको ठेगाना नखुलेका वर्ष २१ का अकल विक, वर्ष २५ का सुदर्शन सेजुवाल र वर्ष २१ का रमेश बुढा रहेको प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए।
दुर्घटनामा सातजना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
घाइते हुनेमा हुम्लाका २२ वर्षीय केशरी शाही, र २४ वर्षीय उज्जवल सिंह, मुगुका १७ वर्षीय धीरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही, मुगु घर भएका गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् भने अन्य एक जनाको नाम खुल्न सकेको छैन। जीप दुर्घटनाको कारण भने यकिन हुन सकेको छैन।