काठमाडौं– सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौंं क्षेत्र नम्बर–२ को उम्मेदवार रहेकी ओनसरी घर्तीले चुनावी घोषणापत्र सार्वजनिक गरेकी छिन्।
मंगलबार सार्वजनिक भएको घोषणापत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, रोजगारी, सामाजिक सुरक्षा, खेलकुदलगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धता समेटिएको छ।
पूर्वसभामुखसमेत रहेकी घर्तीले आधारभुत स्वास्थ्यमाथि जनताको अधिकार स्थापित गराउने घोषणा गरेकी छिन्।
यसैगरी, सीमान्तकृत गरिब समुुदायका घर–परिवार लक्षित पौष्टिक आहार, सुुत्केरी स्याहार लगायतका विषेश कार्यक्रम संचालन गर्ने र प्रत्येक नागरिक स्वस्थ नागरिक अभियानअन्तर्गत खुला जिमको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ। यस्तै, शंखरापुुर नगरपालिका–३ जहरसिंह पौवामा सुुविधा सम्पन्न अस्पताल निर्माण गर्ने घोषणा गरिएको छ।
साथै, गर्भवती महिलाको लागि निःशुल्क यातायातको सेवा प्रदान गर्ने, जनजाति तथा दलित वर्गलाई मध्यनजर गरेर आधुनिक र प्रविधिमैत्री उद्यमशीलता तथा सीप सिकाइ केन्द्रहरूको स्थापना गर्ने बताइएको छ।