काठमाडौं- ललितपुरको पुल्चोकस्थित आरुस लाइफस्टाइल अस्पतालले विश्व मधुमेह दिवसको अवसरमा वाकाथन कार्यक्रम गर्ने भएको छ।
आरुस अस्पतालले बुधबार पत्रकार सम्मेलन गरी ‘फोके वाक–वाक फर हेल्थ, डोनेट फर कज’ भन्ने नारासहित वाकाथन कार्यक्रम गर्न लागेको जानकारी दिएको छ। उक्त कार्यक्रम कार्तिक २६ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुनेछ।
नेपालमा मधुमेहको समस्या बढीरहेको भन्दै अस्पतालले जनचेतना जगाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा सन्तोष शाक्यले अस्वस्थकर जीवनशैलीका कारण मधुमेह लगायतका नसर्ने रोग बढ्दै गएको बताए। मधुमेहको समस्या हाल युवा उमेरमा पनि बढ्दै गएको उनले बताए।
उनले भने, ‘पहिला मधुमेह ४० वर्ष कटेका बुढापाकालाई हुन्छ भनिन्थ्यो। तर अहिले युवाहरुमा पनि मधुमेहको समस्या देखिएको छ। यसको मुख्य जिम्मेवार भनेको अस्वस्थकर जीवनशैली नै हो।’
अस्पतालका मेडिकल निर्देशक डा अमित शाक्यले जीवनशैली परिवतर्न गरे मात्र मधुमेहको समस्याबाट बच्न सकिने बताए। मधुमेह सम्बन्धी भ्रम हटाई जीवनशैली परिवतर्न गर्ने सम्बन्धमा जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको उनले बताए।
हरेक १० मध्ये एक व्यक्तिमा मधुमेहको समस्या देखिएको उनले जानकारी दिए। नेपालमा मधुमेह ग्रामीणमा भन्दा शहरी क्षेत्रमा बढी देखिएको उनले बताए। विश्व मधुमेह दिवसको अवसरमा आरुस अस्पतालले निःशुल्क मधुमेह परीक्षण गर्ने समेत जनाएको छ।
वाकाथन कार्यक्रम पाटन दरबार स्क्वायर परिसरबाट सुरु भई पुल्चोक, कुपण्डोल हुँदै माइतीघर मण्डलामा गएर समापन हुनेछ। कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोललगाएत उपस्थित रहने अस्पतालले जनाएको छ।