काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले अस्पतालहरुले बिरामीले गुनासो गर्न नपर्ने गरी सेवा दिन आग्रह गरेको छन्।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा औपचारिक रुपमा उद्घाटन गर्दै मन्त्री खापुङले बिरामीको गुनासोलाई सम्बोधन गर्न आग्रह गरे।
सरकारी अस्पतालमा उपकरण भएपनि बाहिर परीक्षण गर्न पठाउने गरिएको गुनासो आउने गरेको उनले बताए। बिरामीलाई सबै सेवा अस्पतालमै उपलब्ध गराउन मन्त्री खापुङको आग्रह छ।
उनले भने, ‘सरकारी अस्पतालमा उपकरण भएपनि बाहिर परीक्षण गर्न पठाउने गरेको सुनिन्छ। यस्तो नगर्नु होला। बिरामीलाई गुनासो आउन नदिने गरी सेवा सञ्चालन गर्नुपर्छ।’
आफु नेतृत्वमा रहुन्जेल अस्पतालको समस्या र आवश्यकता पुरा गर्न कोशिस गर्ने मन्त्री खापुङको प्रतिवद्धता छ।
दक्षिण एसियाका सीमित अस्पतालमा रहेको कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा पहिलो पटक नेपालमा सुरु भएको सेन्टरका कार्यकारी निर्देशिक प्राडा उत्तमकृष्ण श्रेष्ठले बताए।
मुटुको शल्यक्रिया र क्याथल्याब उपचार एकै साथ गर्न सकिने उपकरण कार्डियो भास्कुलर हाइब्रिड थिएटर भएको उनले बताए। कार्डियो सिटीस्क्यानले एक धड्कनमा चार सिटीस्क्यान गर्न मिल्ने उनले बताए।