काठमाडौं- दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौँमा जारी छ। शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुुर र अंग प्रत्यारोण समाज नेपालको संयुक्त आयोजनामा भएको दुई दिने सम्मेलनको शनिबार मुख्य सचिव शंकरदार बैरागीले उद्घाटन गरेका हुन्।
सम्मेलनमा अमेरिका, जापान, भारत, बंगलादेश, हल्याण्ड, बेल्जियम, स्लोभानिया तथा नेपालका ख्याति प्राप्त प्रत्यारोपण विज्ञहरु र नेपालका स्वास्थ सँग सम्बन्धि विज्ञहरु अस्पताल प्रमुख र नर्सिङ प्रमुखका सहभागिता रहेको छ।
सम्मेलनले नयाँ प्रविधिको हस्तान्तरण र मस्तिष्क मृत्यु पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अनुभव आदान प्रदान गर्न सहयोग पुग्ने बताइएको छ। यस्तै नेपालको अंगदान तथा प्रत्यारोपण कार्यलाई अझै प्रभावकारी बन्ने विश्वास लिइएको छ।
सम्मेलनबाट देशका नीति निर्माण र कार्यान्वयन तहमा कार्यरत व्यक्तिहरु लाई नीति नियम तर्जुमा गर्न मार्ग दर्शन हुनेछ भने उपचारमा नयाँ प्रविधि र विज्ञताको प्रयोगले सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित हुने कुरा आयोजक कमिटीका अध्यक्ष तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए।