काठमाडौं- सरकारले हेमोफिलिया र थालसिमिया रोगलाई पनि विपन्न नागरिक औषधि उपचार कार्यक्रममा समावेश गर्ने तयारी गरेको छ।
हेमोफिलिया र थालसिमिया रोगलाई पनि कडा रोग अन्तर्गत राख्नुपर्ने भन्दै सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रममा समावेश गर्ने तयारी गरेको हो। हाल यो रोगको अवस्था, बिरामीको संख्या, उपचारमा लाग्ने शुल्क लगायतका विषयमा अध्ययन भइरहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा शाखा प्रमुख डा खगेश्वर गेलालले बताए।
‘यी रोगको उपचार खर्च भोलि सरकारले ब्योहोर्न सक्ने अवस्था देखियो भने कडा रोगको उपचार आठबाट दशसम्म हुन सक्छ।’ उनले भने।
सरकारले हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनिमिया गरी आठ प्रकारका कडा रोगलाई यो कार्यक्रम अन्तर्गत राखेको छ। हेमोफिलिया र थालसिमिया रोग पनि यो कार्यक्रम अन्तर्गत भए कडा रोगको संख्या १० पुग्नेछ।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा र स्वास्थ्य बिमा बोर्डले संयुक्त रुपमा उक्त अध्ययन गरिरहेको डा गेलालले जानकारी दिए। विभिन्न अस्पतालहरुमा यी दुई रोगका बिरामीहरु कत्तिको आउने गरेको विषयमा पनि बुझ्ने काम यो महाशाखाले गरिरहेको छ।
हेमोफिलिया एक वंशाणुगत समस्या हो। हेमोफिलिया रोग लागेका व्यक्तिमा रगत जमाउने तत्वको कमी हुन्छ। जसले गर्दा रगत निरन्तर बगिरहने समस्या हुन्छ।
अर्थात हेमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको एक वंशाणुगत समस्या हो। थालसिमिया पनि एक वंशाणुगत समस्या हो। यो शरीरमा रातो रक्तकोष कमी हुने रोग हो।