काठमाडौं– सर्वोच्च अदालतले डा तोसिमा कार्कीको उम्मेदवारीविरुद्ध परेको भ्याकेटको निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यसअघि जारी भएको अन्तरिक बदर गर्न अस्वीकार गरेको हो।
डा कार्की ललितपुर २ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार हुन्।
हेरौं आदेशको पूर्णपाठ
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ ०७९-WO-०४३३ (०७९-FN-०२८६) मुद्दा:- उत्प्रेषण समेत ।
आदेश
निर्वाचन आयोगको तर्फबाट ऐ.का सचिव गोकर्णमणी दवाडी डा. तोसिमा कार्की..
यसमा निवेदीकाको तर्फबाट उपस्थित विद्वान् सह न्यायाधिवक्ता श्री संजिवराज रेग्मीले गर्नु भएको बहस समेत सुनियो ।
रिट निवेदिका डा. तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भएको र निजले बैठक भत्ता र अनुगमन वापतको भ्रमण भत्ता गरी रू.१.३६.५००।- भुक्तानी लिएको भन्ने आधारमा निजले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन नपाउने भनी निर्वाचन आयोगबाट मिति २०७९।७।१२ मा निर्णय भएको पाइयो। सो निर्णय उपर परेको रिट निवेदनका सन्दर्भमा यस अदालतबाट मिति २०७९ । ७ । १५ मा अन्तरिम आदेश जारी भएको देखियो । यसरी जारी भएको अन्तरिम आदेश बदर गरी पाउँ भनी प्रत्यर्थी निर्वाचन आयोगको तर्फबाट पर्न आएको निवेदन अहिले सुनुवाईका लागि यस इजलासमा पेश हुन आएको देखिन्छ ।
नेपालको संविधानको धारा ८७ (१) (ङ) र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(ङ) मा कुनै लाभको पदमा बहाल नरहेको' भनी उम्मेदवारको योग्यता तोकेको देखिन्छ । निवेदीका नियमित रूपमा पारिश्रमिक वा आर्थिक सुविधा पाउने पदमा बहाल रहेको वा त्यस प्रकारको सुविधा लिएको नभै मेडिकल काउन्सिलबाट अनुगमन गर्दाको सन्दर्भमा भ्रमण भत्ता जस्ता अस्थायी वा भैपरी प्रकृतिको सामान्य रकम भुक्तानी लिएको भन्ने सम्म देखियो । यसरी भुक्तानी लिएको कुरालाई नै आधार मानेर नेपालको संविधानको धारा ८७(१)(ङ) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(३) को प्रयोजनका लागि “लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने देखिएन। तसर्थ पछि पूर्ण सुनुवाईका अवस्थामा निवेदकले उठाएका कानूनी प्रश्नको निरूपण हुने नै हुँदा अहिले प्रत्यर्थी निर्वाचन आयोगको निवेदन माग बमोजिम यस अदालतबाट मिति २०७९।७।१५ मा जारी भएको अन्तरिम आदेश बदर गरिरहन परेन । अरू कानून बमोजिम गर्नु ।
न्यायाधीश
इति संवत् २०७९ साल कार्तिक २८ गते रोज २ शुभम्