काठमाडौं— ललितपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा सचिन घिमिरेले सात सुत्रीय माग राख्दै आमरण अनसन सुरु गरेका छन्।
डा घिमिरेले ललितपुर क्षेत्र १ का एमालेका उम्मेदवार नवराज सिलवालले ल्याएको बजेट र खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग राख्दै उनले मंगलबारदेखि अनसन थालेका हुन्।
गोदावरी नगरपालिकाले तत्काल बाँदर ब्यबस्थापन गर्नु पर्ने, टाखेल चौतारानजिक विद्युतको ट्रान्सर्फमर रुखमा छोएकाले तत्काल रुख काट्नु पर्ने, माचौघरेका गोमा थिङ र चन्द्रबहादुर तामाङको आर्थिक अवस्था कमजोर भएकाले स्थानीय सरकारले प्रविधि शिक्षा निःशुल्क गरिदिनु पर्ने घिमिरेका माग छन्।
साथै, उनले अश्राङलुकुनी बेसीकी भोजकुमारी सञ्जेलका दुई नाति–नातिनाको स्थानीय सरकारले लालनपालन र आवश्यक शैक्षिक खर्च ब्यबस्थापन गरिदिनु पर्ने, कोञ्ज्योसोमका दलबहादुर विश्वकर्मा घुँडाका रोगी, मिर्गाैला पीडितहरू सुमन घेवा तथा बागमती माल्टाका स्मारिका मिश्रलगायतको उपचार स्थानीय सरकारले तत्काल गर्नुपर्ने र गोदावरी नगरले किशोरीलाई खुवाएको आइरन चक्कीको जनस्वास्थ्य औचित्य प्रमाणित गर्नुपर्नेजस्ता सात बुँदे माग राखेका छन्।
घिमिरेले निर्वाचनकै पूर्वसन्ध्यामा आमरण अनसन थालेका हुन्। उनी चापागाँउस्थित टाहाखेल चौतारामा अनसन बसेका छन्।
चुनावी मैदानको बीचबाट सत्याग्रह घोषणा उनी आफ्ना सात सुत्रीय माग पूरा नभएसम्म आमरण अनसन जारी राख्ने बताउँछन्। उनले भारतस्थित जवरलाल नेहरु विश्वविद्यालयबाट चिकित्सा मानवशास्त्रमा विद्यावारिधी गरेका छन्।