काठमाडौँ- नायिका केकी अधिकारीले नेपाली कांग्रेसका महामन्त्री पूर्व तथा स्वास्थ्यमन्त्री गगन कुमार थापालाई जितको शुभकामना दिएकी छिन्। अधिकारीले भिडियो सन्देशबाट थापालाई शुभकामना दिएकी हुन्। थापाले उक्त भिडियो आफ्नो फेसबुकमा सेयर गर्दै ‘धन्यवाद केकी अधिकारी न्यानो सुभेच्छाको लागि’ लेखेका छन्।
अधिकारीले उक्त भिडियोमा गगन थापाको राष्ट्र प्रतिको निष्ठा, जनताप्रतिको सेवा भाव र इमान्दारिता, संसद र संविधान प्रतिको लगाव र प्रतिवद्दता प्रशंसनीय भएको बताएकी छन्।
‘कोभिड महामारीको समयमा उहाँले मेरो सामाजिक सञ्जालमार्फत मेरो र मेरो शुभचिन्तकहरुको प्रश्नको जवाफ दिनुभएको त्यो क्षणलाई म अहिले सम्झिन चाहन्छु। जनसरोकार र जनजीविकाको विषयमा त्यस कठिन समयमा पनि एक असल जनप्रतिनिधिको रुपमा उहाँले देखाउनु भएको तदारुकता, भूमिका, संघर्ष र साहष हामी सबैको लागि प्रेरणादायी बनेको छ। नेपाली कला, नेपाली संस्कृति, साहित्य र चलचित्रप्रति पनि उहाँको विशेष अभिरुची भएको मैले पाएकी छु। त्यही मात्रै नभई भर्खरै आफ्नो कार्यकाल पुरा गरेको संघीय संसदमा उहाँले प्रतिपक्षमा रहँदा मात्रै नभई सत्ता पक्षमा रहँदा पनि राष्ट्रिय चासोका मुद्दाहरू राज्यमा खबरदारी गर्ने र संसदको ध्यानाकर्षण गराउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो।' उनले भिडियोमा भनेकी छन्।
जनप्रतिनिधिहरूमध्ये थापा अग्रणी भएको पनि उनले भनेकि छन्। 'उहाँले नेपाली जनताहरुको मुद्दामा चासो राख्ने र सक्रियता देखाउने कमै जनप्रतिनिधिहरूमध्ये आफूलाई अग्रणी भूमिकामा राख्नु भएको छ। आफ्नो जिम्मेवारीहरू कर्तव्यनिष्ठ भई बहन गर्नु भएकोमा हार्दिक धन्यवाद पनि दिन चाहन्छु। गगन थापा दाईलाई आफ्नो क्षेत्रबाट यस आसन्न निर्वाचनमा विजय भई असल जनप्रतिनिधिको रुपमा आफ्नो यात्रा निरन्तर अगाडी बढाउनु होस् भन्ने कामना गर्दछु। उहाँको जित संगै, उहाँको विजयसंगै हामी सम्पूर्णका निमित्त नयाँनयाँ सम्भावनाका ढोकाहरू खुल्ने एक उदाहरनीय र सफल राजनीतिज्ञको रुपमा दाईको उदय होस् भन्ने कामना गर्दछु। यस निर्वाचनमा दाईको विजयको अग्रिम शुभकामना,’ उनले भिडियोमा भनेकी छन्।
थापाले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर चारबाट उम्मेद्वारी दिएका छन्।