काठमाडौं- नेपालमा २० वर्ष नपुग्दै सन्तान जन्माउने किशोरीको संख्या घटेको पाइएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडीएचएस) ले गएको पाँच वर्षमा कम उमेरमा सन्तान जन्माउने किशोरीको संख्या घटेको देखाएको हो।
सन् २०२२ को एनडीएचएसले नेपालमा १४ प्रतिशत किशोरी (१५ देखि १९ वर्ष) २० वर्ष नपुग्दै गर्भवती हुने गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। यसअघि सन् २०१६ को अध्ययनले नेपालमा १७ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुने गरेको देखाएको थियो।
कम उमेरमा गर्भवती हुनेको संख्या नेपालभर १४ प्रतिशत रहेपनि कर्णाली र मधेश प्रदेशमा सबैभन्दा धेरै छ। कर्णालीमा अझै पनि २१ र मधेश प्रदेशमा २० प्रतिशत किशोरी २० वर्ष मुनि गर्भवती हुने गरेका छन्।
गण्डकी, प्रदेश १ र सुदूरपश्चिममा १३/१३, लुम्बिनीमा १० र बागमतीमा ८ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुने गरेको अध्ययनमा उल्लेख छ।
सन् २०१६ मा प्रदेश १ मा १५.५, मधेश प्रदेशमा २७.३, बागमती प्रदेशमा १०.१, गण्डकी प्रदेशमा १३.९, लुम्बिनी प्रदेशमा १३.४, कर्णाली प्रदेशमा १८.८ र सुदूरपश्चिम प्रदेशमा १६.१ प्रतिशत किशोरी २० वर्ष नपुग्दै गर्भवती हुने गर्दथे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक पाँच/पाँच वर्षको अन्तरालमा नेपालको स्वास्थ्य अवस्था बारे अध्ययन गर्दै आएको छ।