काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का सप्तरी जिल्ला ईञ्चार्ज कौशलेन्द्र यादवले राजीनामा दिएका छन्। प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीको कमजोर नतिजा आएपछि उनले राजीनामा दिएका हुन्।
उनले पार्टीका मधेस प्रदेश अध्यक्षलाई राजीनामा पत्र लेखेर पदमा नबस्ने जानकारी गराएका छन्।‘मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा लाज्जस्पद हार बेहोर्नु परेको हुनाले नैतिकताको आधारमा पार्टीले दिएको जिम्मेवारीबाट राजीनामा दिएको छु,’ उनले लेखेको राजीनामा पत्रमा उल्लेख छ।
उनी पार्टीको सप्तरी जिल्ला ईञ्चार्ज तथा मधेस प्रदेश समितिको सदस्य समेत रहेका थिए। सप्तरीमा जसपाका पार्टी अध्यक्ष पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहितका नेताहरु पराजित भएका छन्। ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा सिट रहेको सप्तरीमा जसपाले प्रतिनिधि सभामा १ सिट मात्र जितेको छ। प्रदेश सभामा भने एउटा क्षेत्रमा पनि जित निकाल्न सकेको छैन।