काठमाडौं–अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा दक्षिण एसियाका रोजगारदाता, ट्रेड युनियन र सरकारका प्रतिनिधिहरूले कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा आ–आफ्ना देशमा पारेको प्रभावका सम्बन्धमा छलफल गरेका छन्।
'बिल्डिङ रेजिलियन्स फर फ्यूचर अफ वर्क एण्ड पोष्ट कोभिड–१९' विषयमा आयोजित कार्यक्रममा दक्षिण एशियाका नेपाल लगायत बंगलादेश, भारत र पाकिस्तानका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नयाँ चुनौती देखापरेको बताए।
सभापति संघाईले यी चुनौतीहरूको सामना गर्न थप प्रयास आवश्यक भएकोमा जोड दिए। यसका लागि उपयुक्त रणनीति र नीति आवश्यक रहेकोमा संघाईको जोड थियो।
दक्षिण एसियामा अर्थतन्त्रको ठूलो हिस्सा अहिलेपनि अनौपचारिक रहेको भन्दै साना मझौला उद्यमहरूको दिगोपन र अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुधारिएको कामको अवस्था सुनिश्चित गर्न महत्वपूर्ण भएको संघाईले बताएका थिए।
‘भौगोलिक रूपमा हामी दक्षिण एसियाली देशहरू एकअर्कासंँग नजिक छौं। अनुभव आदानप्रदानका लागि विभिन्न माध्यम र संयन्त्र छन्। दक्षिण एसियाली रोजगारदाता मञ्च (साफी) तीमध्ये एक हो,’ साफी अध्यक्ष समेत रहेका संघाईले भने ‘साफीलाई हाम्रो पारस्परिक हित र सहयोगको लागि अझ प्रभावकारी रुपमा परिचालन गर्नेतर्फ हाम्रो साझा प्रयास आवश्यक छ।’
कार्यक्रममा आइएलओका देशिय निर्देशक डा. रिचार्ड हवार्ड, आइएलओ दिल्लीका वरिष्ठ विशेषज्ञ रवि पेरिस, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव,आइएलओ काठमाडौं र दिल्ली अफिसका वरिष्ठ विज्ञहरू, सार्क ट्रेड युनियन कांग्रेसका महासचिव लक्ष्मण बस्नेतले पनि सम्बोधन गरेका थिए।