काठमाडौं- धेरै ठाउँको मत परिणाम आइसक्दा स्याङ्जाको क्षेत्र नम्बर २ मा भने हालसम्म पनि मतगणना सुरु भएको छैन। निर्वाचन आयोगले समयमै निर्णय नगर्दा स्याङ्जाको क्षेत्र नम्बर २ को मतगणना हुन नसकेको हो। एमाले उम्मेदवार तथा पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्यालले विभिन्न ५ वटा केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेपछि सो क्षेत्रमा मतगणना अघि बढ्न नसकेको हो।
त्यहाँ कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव तथा पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्याल चुनावी मैदानमा छन्।
कांग्रेसले बुथ कब्जा गरी विदेश गएका र मृत्यु भइसकेका व्यक्तिको नाममा मतदान गरेको भन्दै एमालेले ती केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेको छ।
एमालेले निर्वाचन अधिकृतको कार्यालयमा सोमबार नारा जुलुससहित धर्ना पनि दिएको थियो। आइतबार भएको निर्वाचनमा चापाकोट नगरपालिकाका विभिन्न ५ स्थलमा बुथ कब्जा गरी मतदान गरिएको आरोप एमालेको छ।
विदेश गएका र मृत्यु भएका १ हजार ८० जना भन्दा बढीको नाममा मतदान भएको एमालेको आरोप छ। कांग्रेसले भने मतदान भइसकेपछि सुरक्षित रुपमा मतपेटिका मतगणनास्थल आइसकेको भन्दै मतगणनाको माग गरेको छ।