काठमाडाैं- चीनमा कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनविरूद्ध विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।
साउथ चाइना मर्निङ पोष्टका अनुसार राजधानी बेइजिङ र आर्थिक केन्द्र सांघाईलगायत देशभरिका थुप्रै सहरमा शनिबारदेखि सरकारको ‘जिरो कोभिड’ नीतिका विरूद्ध प्रदर्शन भइरहेका छन्।
सन् २०१९ को अन्त्यमा चीनको वुहान सहरबाट कोरोनाभाइरसको संक्रमण सुरू भएको थियो। त्यसयता चीनले विभिन्न क्षेत्रमा विभिन्न रूपका प्रतिबन्धहरू लगाउँदै आएको छ। कोरोनाभाइरस महामारी मत्थर हुँदै गएको र मानिसहरूले खोप लगाइसकेकाले संसारका अरू मुलुकहरूले नागरिकमाथि लगाइएका सबै प्रतिबन्धहरू लगभग हटाए पनि चीनले कोरोनाविरूद्धको शून्य सहनशिलता नीति जारी राखेको छ।
यसअघि पनि चीन सरकारको उक्त नीतिविरूद्ध फाट्टफुट्ट आवाज उठ्ने गरेका थिए। तर गत बिहीबार चीनको पश्चिममा पर्ने सिन्जियाङ स्वशासित क्षेत्रमा भएको एउटा घटनाले लकडाउनविरूद्धको प्रदर्शनलाई बढाएको हो।
गत बिहीबार सिन्जियाङको राजधानी उरूम्कीमा एक अपार्टमेन्टमा आगलागी भएको थियो। १५ औं तलामा भएको उक्त आगलागीलाई नियन्त्रण गर्न अग्निनियन्त्रकलाई घन्टौं समय लागेको थियो। आगलागीमा परी अपार्टमेन्टमा रहेका १० जना मानिसको मृत्यु भएको थियो।
उरूम्कीमा सय दिनदेखि लकडाउन गरेर नागरिकलाई बाहिर निस्कन दिइएको छैन। सोही लकडाउनका कारण उक्त अपार्टमेन्टका मानिसहरू बाहिर निस्कन नसकेको र १० जनाले ज्यान गुमाउनु परेको भन्दै प्रदर्शन सुरू भएको हो। सामाजिक सञ्जालहरूमा सरकारको नीतिकै कारण ती मानिसहरूले ज्यान गुमाएको भन्दै व्यापक विरोध भइरहेको छ। अधिकारीहरूले भने उक्त कुरालाई अस्वीकार गर्दै आएका छन्। शनिबार उनीहरूले उरूम्कीका लकडाउन बिस्तारै खुकुलो पारिँदै जाने आश्वासन दिएका छन्। एजेन्सी