काठमाडौं- स्याङ्जा क्षेत्र नं २ को चुनाव सम्बन्धी विवादको छानबिनका लागि गठन गरिएको टोलीले आज प्रतिवेदन बुझाउने भएको छ।
आयोगका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा गठन भएको छानबिन टोलीले आज आयोग समक्ष प्रतिवेदन बुझाउन लागेको हो।
३ दिन भित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरिएको थियो।
यस क्षेत्रबाट कांग्रेस उपसभापति धनराज गुरुङ, एमाले सचिव तथा पूर्व स्वास्थ्यमन्त्री पद्मा कुमारी अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ लगायत प्रतिस्पर्धामा छन्।
कांग्रेसले बुथ कब्जा गरी विदेश गएका र मृत्यु भइसकेका व्यक्तिको नाममा मतदान गरेको भन्दै एमालेले ती केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेको छ।
एमालेले निर्वाचन अधिकृतको कार्यालयमा सोमबार नारा जुलुससहित धर्ना पनि दिएको थियो। आइतबार भएको निर्वाचनमा चापाकोट नगरपालिकाका विभिन्न ५ स्थलमा बुथ कब्जा गरी मतदान गरिएको आरोप एमालेको छ।
विदेश गएका र मृत्यु भएका १ हजार ८० जना भन्दा बढीको नाममा मतदान भएको एमालेको आरोप छ। कांग्रेसले भने मतदान भइसकेपछि सुरक्षित रुपमा मतपेटिका मतगणनास्थल आइसकेको भन्दै मतगणनाको माग गरेको छ।