काठमाडौँ- थापाथलीस्थित वाग्मती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीयसँगको झडपमा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीका एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि अवरोधको अवस्था सिर्जना भएको हो।
स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन गरेर हटाउन खोजेपछि खुकुरी, इँटा र ढुंगासहित स्थानीयहरुले प्रतिकार गरिरहेका छन्।
बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले काठमाडौं महानगरपालिकासँग समन्वय गरी वस्ती हटाउन खोजेको हो। यसअघि वस्तीबाट हट्न १० दिने सूचना जारी गरिएको थियो तर अझै उनीहरु हटेका छैनन्। उनीहरुलाई बलपूर्वक हटाउन डोजर चलाउन खोजिएको हो। घर-टहरा भत्काउँदा पुग्ने क्षति आकलन गर्दै कतिले झिटीगुन्टा समेत निकालेका छन्। स्थानीयहरुले टायर बालेर बाटो अबरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्।