आज विश्व एड्स दिवस, संसारभरि एचआईभी/ एड्सको बारेमा जनचेतना जगाउन यो महत्वपूर्ण अवसर पनि होI यो दिवस एड्स अन्त्य गर्न संरचनागत असमानताहरुलाई हटाउने विषयमा बढी केन्द्रित छI मूलतः सामाजिक, आर्थिक, सांस्कृतिक, लैंगिक, राजनीतिक र कानुनी असमानताहरुलाई सम्बोधन गर्दै सन् २०३० सम्ममा एड्स अन्त्य गर्ने विश्वव्यापी लक्ष्य हासिल गर्न कठिन छI यि अनुभवजन्य एवं खतरापूर्ण असमानताहरुले एड्स अन्त्य गर्ने विश्वव्यापी प्रयासहरुलाई थप चुनौतीपूर्ण बनाएका छन्I त्यसैले यी अपेक्षित परिणाम हासिल गर्न बाधक बनेका छन्I
एड्स अन्त्य गर्ने विश्वव्यापी प्रयासहरूमा केही सफलता मिले पनि यो अझै पर्याप्त छैनI नयाँ संक्रमणहरुको बढ्ने क्रम जारी छ र यसबाट मृत्यु हुनेहरूको संख्या पनि उल्लेख देखिन्छI युएनएड्स (२०२२) को प्रतिवेदन अनुसार सन् २०२१ सम्ममा एचआईभी संक्रमितको संख्या ३८.४ मिलियन पुगेको छ, जसमध्ये ५४ प्रतिशत महिलाहरु छन। जम्मा संक्रमितमध्ये १५ वर्ष र त्योभन्दा माथिका ३६.७ मिलियन र १.५ मिलियन बालबालिकाहरू छन। सन् २०२१ मा करिब ६ लाख ५० हजार जनाको एड्स सम्बन्धित रोगहरुबाट मृत्यु भएको छI त्यसैगरी एशिया प्रशान्त क्षेत्रमा भने एचआईभी संक्रमितको संख्या ६ मिलियन पुगेको छI करिब ७६ प्रतिशतले आफ्नो एचआईभी अवस्था बारेमा सचेत छन् भने यसको८६ प्रतिशतले उपचार पाइरहेका छन्। यस क्षेत्रमा नयाँ पद्धतिहरु जस्तै ओरल प्रेप, एचआईभी स्वपरीक्षण र अन्य रोकथामका नवीनतम कार्यक्रमहरुले गर्दा अति उच्च जोखिममा रहेका समुदायहरुमा सेवा बढेको छ, तर पनि अझै यी सेवाहरु समुदायस्तरमा थप विस्तार गर्न जरुरी छ।
विज्ञान र चिकित्सा प्रणालीको विकाससँगै एचआईभी/एड्सलाई समाजिक र मानवीय दृष्टिकोण बाट अझ गहिरिएर हेर्न आवश्यक देखिएको छI एचआईभी मात्र स्वास्थ्यको समस्या नभएर दिगो मानवीय विकासको ठूलो चुनौती बनेको छI त्यसैले यो वर्ष एड्स दिवसको नारा असमानता सँग जोडिएको छI सबैमा एचआईभी उपचार परीक्षण र रोकथामका सेवाहरु पहुँच वृद्धि गर्दै सबैका लागि एचआइभी सेवाहरु सर्वसुलभ र गुणात्मक हुनुपर्ने आवश्यकता बढ्दै गएको छI अर्को तर्फ एचआईभी एड्स विरुद्ध सामाजिक विभेद र कलंकहरुलाई लागि प्रभावकारी रुपमा सम्बोधन गर्न कानुन, नीति र प्रचलनहरुलाई सुधार गर्नुपर्ने देखिन्छI समुदायले भोगिरहेका असमानताहरूको चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न उनीहरूको सशक्तिकरणका लागि विशेष पहल गर्नुपर्ने देखिन्छI त्यसैले आजभोलि समुदायकै नेतृत्वमा सुरु गरिएका रोकथामका कार्यक्रमहरु बढी लोकप्रिय भएका छन्I साथै यी कार्यक्रमहरूको सहभागीतामूलक अनुगमन र मूल्याङ्कन पनि समुदायकै नेतृत्वमा गरिनुपर्ने आवश्यकता बढी देखिएको छI
एड्स अन्त्य गर्ने सवालमा देखिएका धेरै चुनौतीहरु मध्ये सबैभन्दा ठूलो चुनौती लैङ्गिक असमानता होI धेरै देशहरुमा किशोरी र युवतीहरु एचआईभी संक्रमणको जोखिममा बढी परेका छन्I समाजमा व्याप्त पितृसत्तात्मक परिवार, महिला - पुरुष बिच असमान शक्ति वितरण र सबै खालका घरेलु हिंसा र विभेदले पनि महिलाहरूको यौनिक र प्रजनन स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छI महिला हिंसाविरुद्धको अभियान मनाइरहँदा लैङ्गिक हिंसाले निम्त्याउने यौन र प्रजनन् स्वास्थ्य सम्बन्धी नकारात्मक असरहरुलाई पनि ध्यान दिनु जरुरी छ l महिला हिंसाले महिलाविरुद्ध हुने सबैखाले हिंसाले उनीहरूको एचआईभी संक्रमण हुने जोखिमलाई बढाएको छI एचआईभी एड्सको बढ्दो प्रभावलेले दिगो विकास लक्ष्यको महत्वपूर्ण एजेण्डालाई प्रत्यक्ष प्रभाव पार्ने निश्चित छI खासगरी अति कम विकसित मुलुकहरुमा ब्याप्त गरिबी, सामाजिक-आर्थिक संकट र कमजोर स्वास्थ्य प्रणालीले गर्दा एचआइभी रोकथाम गर्न त्यति सजिलो छैनI उसो त महामारी र प्राकृतिक विपदका बेला समुदायमा आधारित एचआइभी रोकथाम र उपचार सेवाहरुलाई निरन्तरता दिन थप चुनौतीपूर्ण देखिन्छI
एड्स अन्त्य गर्ने सवालमा अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रयासहरु भएका छन्I खासगरी अतिकम विकसित मुलुकहरूमा रोकथामका लागि अन्तर्राष्ट्रिय सहयोग र साझेदारी अझैसम्म कायम छI यसले राष्ट्रिय र स्थानीय सरकारहरुलाई एचआईभी रोकथाम नियन्त्रण गर्न आवश्यक प्राविधिक सहयोग मिलेको छI एचआईभी/एड्स सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च उच्चस्तरीय बैठक (जुन ८-१०, २०२१) ले अवलम्बन गरेको राजनीतिक घोषणा र विश्वव्यापी एड्स रणनीति (२०२१-२०२६) ले एचआईभी रोकथाम गर्ने सवालमा देखिएका असमानताहरु हटाउन सामूहिक प्रतिबद्धतालाई प्राथमिकतामा राखेको छI नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवामा हरेक नागरिकको पहुँचलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। सन् १९८८ मा नेपालमा पहिलोपटक एचआइभी संक्रमित पहिचान भएपछि बिस्तारै संक्रमितहरूको संख्या पनि बढ्दै गयोI मूलतः लागुऔषध प्रयोगकर्ता, समलिङ्गी पुरुष, ट्रान्स्जेन्डर, यौनकर्मी, आप्रवासी कामदार र उनीहरूको परिवार उच्च जोखिममा छन्I राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रको प्रतिवेदन (२०२१) अनुसार नेपालमा एचआइभी संक्रमितको अनुमानित संख्या २९,५०३ रहेको छI साथै, १५ देखि ४९ बर्षको उमेरसमूहमा एचआइभी प्रिभ्यालेन्स ०.१३ प्रतिशत मात्र छI तथ्यांक हेर्दा महिलाहरू भन्दा संक्रमित पुरुषहरु बढी पाइएको छI
एचआइभी रोकथाम, परीक्षण र उपचार सेवाहरुलाई स्थानीयस्तरमा विस्तारगर्न साझेदार संस्थाहरूको प्राविधिक सहयोग र भूमिका महत्वपूर्ण रहेको छI दशकौंदेखि एचआइभी संक्रमित र प्रभावित समूहहरूको सञ्जालहरु र अन्य समाजिक संस्थाहरु एचआइभी रोकथाम गर्ने अभियानमा स्थानीय तहमा सक्रिय छन्I यो बाहेक, ग्लोबल फण्ड लगायत अन्य दातृ निकायहरूसँग प्राविधिक सहयोगका लागि बढी भरपर्ने परम्पराले भविष्यमा यी सेवाहरुले कसरी निरन्तरता पाउन सक्छन्? यो विषयमा कहिलेकाहीँ बहस-छलफल भएपनि स्पष्ट कार्यदिशा र मार्गचित्र अझै बनेको छैनI राष्ट्रिय एचआइभी रणनीतिक योजना (२०२१-२०२६) ले रोकथाम, परीक्षण र उपचारका नवीनतम प्रयासहरुलाई अनुसरण गर्दै संघीय परिवेशमा समुदायस्तरमा विस्तारगर्न गर्न सुझाएको छI गुणस्तरीय एचआईभी सेवाहरुमा उच्च जोखिममा रहेका समूहहरूको समतामूलक पहुँच बढाउन स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन जरुरी छI त्यस्तै, स्थानीय तहमा एचआइभीबाट प्रभावित गरिब, सीमान्तकृत बालबालिका र महिलाका लागि आयआर्जनका अवसरसँगै सामाजिक संरक्षणका सुविधाहरु व्यवस्था गर्न ठोस कार्ययोजना तयार गर्नुपर्छ l
रोकथामका सवालमा नागरिक समाजको भूमिकालाई अझ बढी सशक्त र पारदर्शी बनाउँदै दातृ निकायबाट सञ्चालित कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन गर्न जरुरी छI एचआईभी सङ्क्रमित व्यक्तिलाई उपचार सेवामा सहज पहुँच बढाउन प्रदेश र स्थानीय स्तरमा परीक्षण, परामर्श र प्रेषण सेवालाई उच्च प्राथमिकतामा राखिएको छ। यीबाहेक उपलब्ध स्रोतको पारदर्शिता, समतामूलक वितरण र परिचालनमा थप सुधार गर्नुपर्छ। गुणात्मक एकीकृत एचआईभी सेवाको निरन्तरता सुनिश्चित गर्न आन्तरिक स्रोत परिचालन पर्याप्त रूपमा बढाउन विशेष पहल गर्न जरुरी छ। अझै पनि एचआईभी कार्यक्रम विकास साझेदारहरूको प्राविधिक सहयोगमा बढी निर्भर छ। त्यसैले एचआईभी कार्यक्रमको बजेट तर्जुमा र योजना प्रक्रियामा प्रादेशिक र स्थानीय सरकारहरूको क्षमता बढाउँदै सार्वजनिक–निजी साझेदारीको अवधारणालाई प्रवर्द्धन गर्नुपर्छI राष्ट्रिय एचआइभी रोकथाम कार्यक्रमले मानवअधिकार र लैंगिक समानताका सवालहरुलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुपर्छI साथै दक्ष जनशक्ति, औषधि आपूर्ति व्यवस्थापन र प्रयोगशाला सेवाहरुको स्तरोन्नती र सुदृढिकरण गर्नको लागि स्वास्थ्यमा लगानी बढाउन आवश्यक देखिन्छI समग्रमा, बहुक्षेत्रीय समन्वय र सहकार्यले मात्र एड्स अन्त्य गर्न सकिन्छI यसका लागि बलियो राजनीतिक नेतृत्व, राष्ट्रिय अपनत्व, पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गर्न आवश्यक छI
(लेखक जनस्वास्थ्य क्षेत्रमा कार्यरत छन्I)