काठमाडौं- बेलायत बस्दै आएका महाकुलुङ ३ छेस्कामका विर्खबहादुर कुलुङ दम्पतीले बुबा र आमाको स्मृतिमा स्वास्थ्य कोष स्थापना गरेका छन्।
आर्थिक अभावका कारण ऋण काढेर उपचार गर्न बाध्य भएकाहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यसाथ स्वर्गीय बुबा नरवीर कुलुङ र स्वर्गीय आमा लाखसञ्च कुलुङको स्मृतिमा २ लाख रुपैयाँ बराबरको कोष आज स्थापना गरेका हुन्। साथै आजै सञ्चालक समितिमार्फत कानुनी प्रक्रिया पूरा गरिएको बताएका छन्।
कुलुङले आमा र बुबाको स्मृतिमा‘नरवीर लाखसञ्च स्वास्थ्य कोष’स्थापना गरी सञ्चालक समिति अध्यक्ष घनश्याम कुलुङलाई रकम हस्तान्तरण गर्दै कोष सञ्चालन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
उक्त कोषबाट सोलुखुम्बु, भोजपुर र संखुवासभाजस्ता विकटबाट काठमाडौं उपचार गर्न आएकालाई सहयोग गरिने सञ्चालक समितिका सदस्यसचिव विवश कुलुङले बताए। उनका अनुसार आजै संखुवसभाको सिलिचोङबाट आएर ह्याम्स अस्पतालमा उपचार गराइरहेकी कौशिला कुलुङलाई चार हजार रुपैयाँ सहयोगसमेत गरिएको छ।
उक्त अवसरमा विर्खबहादुर कुलुङले कोषको रकम उपचार गर्न समस्या भएकाहरूको सहयोगी बन्ने विश्वास व्यक्त गरे। ‘कोषको सही सदुपयोग हुनेमा विश्वस्त छु’, उनले भने।
कोष सञ्चालक समितिका अध्यक्ष घनश्याम कुलुङले भने, ‘कतिलाई आर्थिक अभाव भएकै कारण उपचार गर्न समस्या छ। त्यसैले कोष स्थापनाले विपन्नलाई राहत मिल्नेछ।’ बिरामीको अवस्था र आर्थिक अवस्था हेरेर वर्षमा कम्तीमा ४ जनालाई सहयोग गर्न सकिने कार्यविधि बनाइएको समितिले जनाएको छ ।
साथै, कोषको रकम थप गर्दै लगिने विर्खबहादु कुलुङ दम्पतीले बताएका छन्।