जिन्दगीमा मान, प्रतिष्ठान र सफलताको रटान लाउँदालाउँदै,बल्लतल्ल पाएको जुनी पनि समरभूमि भईसक्यो। तर पनि मानिसहरु अर्कोलाई पछारेर आफू अघि बढ्ने बाघचाल खेल्न लागेकै छन्।' के लछारिस् तँ? तैले जिन्दगीमा' भन्दा हात लायो शून्य बाहेक केही छैन। त्यसैले केही गुमाउन होइन केही पाएको अनुभूति गर्न पनि यात्राहरु आवश्यक छ। शरीरलाई दुखाईहरु दिनुपर्ने आवश्यक छ। लामो पदयात्रामा हामी जति थकित हुन्छौं त्यति नै लोभ, ईच्छा, प्रतिरोधहरु भुल्दै जान्छौं। आफैंसँग हराउँछौं। यहि नै हो जिन्दगी को सार भनेको।
कुमार डा साब, अनिल डा साब, नविन सर, कृष्ण सर,गोविन्द भाई र म गरी छ जनाको टोली यही कार्तिकको १८ र १९ गते धम्पुसमा जीवनशैली व्यवस्थापन विशेष स्वास्थ्यको कार्यक्रम सकेर मर्दी बेस क्याम्पका लागि उक्लियौं।धम्पुसबाट प्रितम देउराली सम्म बाईकको कष्टकर यात्रा पश्चात हामी एक एकवटा लौरो समातेर फरेष्ट क्याम्पका लागि हानियौं। बाटामा भेटिएका अनेकौं यात्रीहरु सँगको मितेरी स्मरणीय नै बन्यो। हाम्रो टोली पनि कम थिएन।बाटामा नाच्दै कम्मर मर्काउँदै उकालोको थकान मेट्ने जमर्को गरिरहेका थियौं। दिउँसो ११:३० बजे तिर निस्किएका हामी रेस्ट क्याम्प पुगेर बास बस्दा बेलुकीको ७ बजिसकेको थियो।मन चंगा जस्तै थियो तर ज्यान भनेर हिंडाईले दिएको सास्तीले दुखेर हैरान। जसोतसो खाना खाएर हामी सुत्यौं।
२० गते बिहानै आईतबार सूर्योदय सँगै खाजा खाएर हामीले बाटो ततायौं। जंगलको यात्रा गर्दा हराउन सक्ने संभावनाका बिच पनि हामी ठाउँ ठाउँमा राखिएका चिन्हहरु हेर्दै पछ्याइरहेका थियौं। यात्राको दोस्रो रात धेरै जसोले बास बस्नका लागि लो क्याम्प (२९७० मिटर) रोज्दा रैछन्। यहाँबाट हाई क्याम्पसम्म बाटोमा भेटिने सबै होटलहरूमा सस्तोमा बास बस्न पाइन्छ। तर हाम्रो लक्ष्य हाई क्याम्प पुग्ने थियो।
यात्रा गर्दै गर्दा छिटो हिंड्ने र ढिलो हिंड्ने टोली छुट्टियो।बादल डाँडा सम्म पुग्दा लगभग १ घण्टाको अन्तरालमा हामी तिनजना अघि भएछौं। बिहानको लगभग १० बज्दा खेरी नै हामी बादलडाँडा पुगेका थियौं। बाँकी साथीहरुलाई समेत पर्खने बाहानामा हामीले फोटाहरु खिच्यौं। पदयात्राको लगभग आधा बाटो काटेपछि आउने बादलडाँडाबाट अन्नपूर्ण, माछापुच्छ्रे, गङ्गापूर्ण, हिमचुलीलगायत १४ वटा विभिन्न हिमाल पनि देखिन्छन्।
त्यहाँ बिहानको खाना खाएर केही आराम गरेपछि हामी हाई क्याम्पका लागि उक्लियौं। भ्यु पोइन्टमा बस्ने व्यवस्था नभएको र जसरी पनि हाई क्याम्प कै बास हुने भएकाले हाम्रा हिंडाईहरु आरामका थिए।कुहिरोले छोपिसकेको थियो।वरिपरि भिर अनि हिंड्ने बाटो देेख्न पनि मुस्किल। धम्पुसबाट यात्रामा निस्किएको दोस्रो रात बास बस्न बेलुकी ६ बजे तिर 'हाई क्याम्प' (३५५०मिटर) पुगियो। मौसम खुलेको दिन आँखै अगाडि माछापुच्छ्रे छ्याङ्ग देखिन्छ यहाँबाट। अनि माछापु्च्छ्रे मुनि मर्दी हिमाल दाजु भाई जस्तै देख्न पाइन्छ।
त्यो दिन अलि कम हिंडाई परेकाले पनि हुन सक्छ हामी केही रमाईला कुरा गरेर सुत्यौं। तर अर्को दिन तिनै बजे उठेर भ्यु पोइन्ट जानु पर्ने कुराले रातभर कसैलाई निद्रा परेको थिएन। घाम त्यति नलाग्ने हुनाले सोलार बत्ती खासै बलेन।पानीको उस्तै अभाव। तातो पनि त झन् कसले दिने बिहानको ३ बजे।
हामी २१ गते सोमबार बिहानै उठेर निस्कियौं। जूनको मलिनो चहकमा चालिएका हाम्रा पाईलाहरु हाई क्याम्प बाट भ्यु पोइन्ट पुग्न प्रथम हुन पुगे त्यो दिन। केही नदेखिएर हिंड्दा एकोहोरो भईदो रैछ। अनि गन्तव्यमा एउटा सानो बत्ति देख्दा आस लाग्दो रैछ। त्ही एकोहोरो पन र आसमा हामी बिहानको ६ बजे भ्यु पोइन्ट पुग्यौं। हामी पुगेपछि र उज्यालो भएर हिमालका छातीहरुमा घाम पोखिएपछि भ्यु पोइन्ट आउने आन्तरिक र बाह्य पर्यटकको घुँइचो हेर्न लायक थियो। फोटो खिच्न समेत पालो नपाईने अवस्था थियो। यो त अझ हल्का सिजन गईसकेको अवस्था हो रे अस्ति दशै तिहारको विदामा त होटेल प्याक भएर बस्ने ठाउँ समेत थिएन भन्दै थिए त्यहाँका होटेल व्यवसायी।
२०० रुपैयाँको प्रति कप चिया र २०० रुपैयाँ कै प्रति गोटा अण्डा खाएपछि हामी अलि महँगो महसूस गरिरहेका थियौं।पानीको अभाव र भरियाहरु लाएर सामान बोक्नु पर्ने दुःखहरु आँखा कै सामुन्ने देख्दा हामी सँग महँगी विरुद्ध तर्क गर्ने कुनै शब्द थिएनन्। ४५,०० मिटरमा रहेको मर्दी आधार शिविरमा पुग्न अलि कठिन हुने हुँदा अनुभवी यात्रुबाहेक अरूलाई ४२,०० मिटरमा रहेको भ्यूपोइन्ट अथवा हाईपोइन्ट (३५५० मिटर) सम्मको यात्रा उपयुक्त हुँदो रैछ। तर हामी आधार शिविर पुगेरै छोड्ने अठोटका कारण पुग्यौं पनि।अन्तिम बिन्दुमा नपुगी फर्किनु मनलाई कता कता केही खाली राखेर फर्किनु जस्तै हुन्छ। त्यसैले केही बिरामी भएका साथीलाई छाडेर हामी आधार शिविर टेकेरै छोड्यौं।
हिमाल सँग मितेरी लाएर जीवन बिताउन कष्टकर नै हुन्छ।तै पनि यति मनमोहक दृश्य हामी यात्रीलाई देखाउन लगभग हरक्षण कठोर अवस्था बिताएर बसेका सम्पूर्ण भरिया एवं व्यवसायी लाई धन्यवाद दिन मन लाग्यो।त्यो भन्दा पनि भेडा,भैंसी,चौरी चर्ने ठाउँलाई विश्वमा चिनाएर यो पदमार्गको थालनी गर्न महत्वपूर्ण योगदान गरेका स्वर्गीय सुदीप गौतमलाई पनि मैले मन मनै सम्झिएँ। जो अस्ति भर्खर यतै कतै दुर्घटनामा परेर बितेका थिए।
हिमालमा बास गर्नु हुने सम्पूर्ण देवताहरुमा कोटी कोटी नमन गर्दै यो चोटीको ट्रेकमा भए गरेका गल्तीहरुलाई क्षमा गर्न आग्रह गर्दै म लगायत हाम्रो टोली बेस क्याम्प बाट फर्कियो।हिमालले जो कोसैलाई आकर्षण गर्छ,त्यो दैवीय शक्तिका अघि म सधैं नतमस्तक छु रहन्छु। तर त्यो शक्तिका अघि हामी मानवजातीले घमण्ड गर्न हुँदैन। मौसम र हिमालको अवस्था लाई च्यालेन्ज गर्न हुँदैन। जसले जोखिमहरु निम्त्याउँछन्। बाटोमा फर्किंदा धेरै पर्यटकहरु हराएको घटना सुन्दा त्यस्तै सन्देश मनमा आईरहेको थियो।
सोमबार हामी ओरालो लागेर फरेष्ट क्याम्प आएर बस्यौं र मंगलबार,२३ गते फेरि धम्पुस हुँदै आ-आफ्नो कार्यस्थल फर्कियौं। कास्कीको धम्पुस वा काँडे हुँदै पद यात्रा गर्नेहरूका लागि फर्कँदा भने कास्कीको अन्तिम गाउँका रूपमा चिनिने सिदिङबाट पदयात्रा टुङ्ग्याउँदा छोटो र सहज हुन्छ। सिदिङबाट दुई घन्टामा जीपले पोखरा पनि पुर्याइदिन्छ। तर हामी भने बाईक लिएर गएका हुनाले प्रितम देउराली,धम्पुस हुँदै फर्किन बाध्य भयौं।केही फाईदा लिए पछि बदलामा केही बेफाईदा त जरुर हुने नै भयो।