काठमाडौं– मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रकै नजिता सार्वजनिक भएको छ। सोमबार बिहान दोलखाको नतिजा सार्वजनिक भएसँगै प्रत्यक्षतर्फको अन्तिम नतिजा पनि सार्वजनिक भएको हो।
अन्तिम नतिजा सार्वजनिक हुँदा चिकित्सकिय अभ्यास (प्राक्टिस)मा सक्रिय एक जना चिकित्सक मात्र विजयी भएकी छन्। ललितपुर ३ बाट डा तोसिमा कार्की विजयी भएकी छन्। प्रतिनिधि सभामा डा शेखर कोइराला, शसांक कोइराला, डा शुनिल शर्मा पनि विजयी त भएका छन्,तर उनीहरु चिकित्सक भन्दा बढी राजनैतिक व्यक्तिको रुपमा परिचित छन्। सुनिल शर्मा त मेडिकल कलेज सञ्चालक हुन्।
डा तोसिमा भने निर्वाचनको केही समयअघि मात्रै पाटन अस्पतालबाट राजीनामा दिएकी थिइन्।
निर्वाचनमा देशका विभिन्न स्थानमा गरी एक दर्जन चिकित्सक उम्मेदवार बनेका थिए। तर जित निकाल्नेमा प्राक्टिसमा रहेकी डा कार्की मात्र छिन्।
प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले सर्वाधिक ५७ सिट जितेको छ। २०७४ को निर्वाचनमा २३ सिट मात्रै जितेको कांग्रेसले यसपटक थप ३४ सिट जितेको छ।
प्रमुख दुई कम्युनिस्ट दल एमाले र माओवादी केन्द्रले भने उल्लेखनीय रुपमा सिट संख्या घटाएका छन्। २०७४ मा ८० सिट जितेको एमालेले यसपटक ४४ सिट मात्रै जितेको छ। उसले ३६ सिट कम जितेको हो। माओवादी केन्द्रले २०७४ मा ३६ सिट जितेकोमा यसपटक ठीक आधा अर्थात् १८ वटा मात्रै सिट जितेको छ।
दुई मधेस केन्द्रित दल लोसपा र जसपाले पनि सिट संख्या घटाएका छन्। २०७४ मा राजपाको रुपमा निर्वाचन लडेको अहिलेको लोसपाले ४ सिट मात्रै जितेको छ। जबकि, २०७४ मा उसले ११ सिट जितेको थियो।
२०७४ मा संघीय समाजवादी फोरमको रुपमा निर्वाचनमा होमिएको उपेन्द्र यादव नेतृत्वको दलले १० सिट जितेको थियो। यसपटक जसपाको रुपमा निर्वाचन लडेको सोही दलले जम्मा ७ सिट जितेको छ। अध्यक्ष उपेन्द्र यादव पनि पराजित भएका छन्।
२०७४ मा एक/एक सिट जितेका नेमकिपा र राष्ट्रिय जनमोर्चाले अहिले पनि एकएक सिट मात्रै जितेका छन्। त्यतिबेला एक सिट जितेको राप्रपाले अहिले ७ सिट जितेको छ। त्यतिबेला एक सिट जितेका स्वतन्त्र उम्मेदवारले यसपटक ५ सिट जितेका छन्।
एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीले १० सिट जितेको छ। विभाजनका बेलामा ११ जना प्रत्यक्ष निर्वाचित सांसद एकीकृत समाजवादीतिर लागेका थिए। सोही संख्याको आधारमा पनि उसलाई १ सिट घाटा लागेको देखिन्छ।
नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टीले ७, नागरिक उन्मुक्ति पार्टीले ३ र जनमत पार्टीले १ सिट जितेको छ। समानुपातिकतर्फको मत गणना जारी छ। पछिल्लो विवरणले सात वटा दल मात्रै राष्ट्रिय दल बन्ने सम्भावना देखिएको छ। एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टीले मात्रै तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ। सोमबार बिहानसम्म समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार १२५ मत गणना भइसकेको छ।