काठमाडौं- भरतपुर महानगरपालिकाले सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि थप योजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाएको छ। इण्डोनेसियाको बालीमा भएको एपीक्याटको सातौँ सम्मेलनमा महानगरपालिकाले यस्तो प्रतिबद्धता जनाएको हो।
नेपालको प्रतिनिधित्व गर्दै बाली पुगेका भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि गरिएका प्रतिबद्धताहरु कार्यान्वयनमा ल्याइने बताएका छन्। यसअघि नै पनि सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नीतिगत काम गर्दै आएको भन्दै अब कार्यान्वयन गर्नुपर्ने पक्षलाई अघि बढाइने उनले बताए।
भरतपुरले दीगो विकास लक्ष हासिल गर्न स्वास्थ्यका तर्फबाट गर्नुपर्ने कामहरु अघि बढाएको उनले बताए। सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालले डब्लुएचओ एफसिटीमा हस्ताक्षर गरिसकेको भन्दै सोही अनुसार बनेको ऐन कार्यान्वयन गर्ने क्रममै रहेको उनले बताए। सुर्ती नियन्त्रणका लागि अनुगमनलाई निरन्तरता दिईएको, सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग गर्न नपाईने व्यवस्था गरिएको लगायत जानकारी सम्मेलनमा जानकारी दिएका छन्।
शनिबार सकिएको सम्मेलनमा दी युनियन एशिया प्रशान्त क्षेत्रका निर्देशक डा तारासिंह बमले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि नेतृत्व, जवाफदेहिता र स्थिरता मुख्य कडी रहेको बताएका छन्। राजनीति नेतृत्वले सुर्तीजन्य नियन्त्रणका लागि कार्यान्वयन गर्न अग्रसरता देखाउनुपर्नेमा उनको जोड छ।
वान हेल्थ एप्रोचबाट अघि बढ्नुपर्ने बताउँदै उनले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि भएका ऐन कार्यान्वयन गर्नुपर्ने र कर बढाउनुपर्ने उल्लेख गरे। सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्ध एशिया प्रशान्त क्षेत्रका नगरहरुको दबाब समूह एपीक्याटको सातौँ सम्मेलनले पाँच बुँदे घोषणापत्र समेत जारी गरेको छ। धूम्रपान रहीत वातावरण निर्माणका लागि सुर्तीजन्य पदार्थको विज्ञान, प्रचारप्रसार बन्द गर्ने, चेतावनीमूलक सन्देश सहितको प्याकिजि¨ कार्यान्वयन गर्ने, विद्युतीय चुरोट लगायत सुर्तिजन्य पदार्थमा बन्देज लगाउने घोषणापत्रमा उल्लेख छ।
सुर्तिजन्य पदार्थ, मादक पदार्थ लगायत अस्वस्थकर खानेकुराको कर बढाउने, सुर्तिजन्य पदार्थको उत्पादन गर्ने उद्योगहरुले उपलब्ध गराउने कुनै पनि लाभदायक वस्तु अस्वीकार गर्ने र एकद्धार स्वास्थ्य प्रणाली मार्फत पहुँच योग्य एक स्वस्थ नगर बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ।
सम्मेलनमा १० राष्ट्रबाट ४८ जना मेयरसहित ३०८ जना प्रतिनिधिहरु सहभागी थिए। सम्मेलनमा सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा क्रियाशिल स्वास्थ्य पत्रकार मञ्च नेपाल सहित आठ जना संस्थालाई अवार्ड समेत वितरण गरिएको थियो। उक्त सम्मेलन कोभिड १९ महामारी पछिको भौतिक उपस्थितिमा भएको पहिलो सम्मेलन हो। सन् २०१६ मा १२ नगर सदस्य रहेको एपीक्याटमा हाल १२२ नगरहरु सदस्य छन्।