काठमाडौं– ३२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै काठमाडौं महानगरपालिकाले ११औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ।
राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा हरेक वडाबाट एक जना पर्ने गरी सिफारिस भएर आएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सम्मान गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रमुख शाह, उपप्रमुख डंगोल र प्रमुख प्रशासकीय अधिकृत अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाले जनताको घरमा महानगरको उपस्थिति देखाएको भन्दै प्रसंसा गरे।
‘स्थानीय सरकार नागरिकको आँगनको सरकार हो। नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ। आधारभूत स्वास्थ्य सेवा दिन होस् या महामारी नियन्त्रणको अभियान लिएर होस्। तपाईंहरु स्वस्थ्य समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ। तपाईंहरुको यो योगदान अतुलनीय छ’, प्रमुख शाहको भनाइ थियो।
त्यसक्रममा उपप्रमुख डंगोलले, समाजका समुदाय–समुदायभित्र स्वास्थ्यको पहुँच पुर्याउनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका ठूलो रहेको बताए।
‘घर घरमा कसलाई कस्तो समस्या छ भनेर लगत भएका स्वयंसेविकाहरुलाई महानगरले कम आँकलन गरेको छैन। हामी गर्दैनौँ’, उपप्रमुख डंगोलले भनिन्, ‘महामारीजस्तो कठिन समयसँग जुध्नका लागि यहाँको क्रियाशीलताले समस्या व्यवस्थापनमा उल्लेखनीय टेवा पुगेको छ।’
काठमाडौं महानगरपालिकामा स्वयंसेविकाहरुको व्यवस्थापनका लागि निर्देशिका जारी गर्न कार्यपालिकाबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ। स्वास्थ्य विभागका प्रमुखकाअनुसार २०५१ सालबाट महानगरमा सुरु भएको स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थितिलाई निर्देशिकाले व्यवस्थित गर्नेछ।
उनका अनुसार महानगरमा ५५८ जना स्वास्थ्य स्वयंसेविका रहेकोमा अहिले घटेर ५२८ पुगेको छ। कोही विदेश गएकोले, कसैको मृत्यु भएकाले संख्या घटेको महानगरले जनाएको छ।