काठमाडौं- पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट, दोलखामा बायोमेडिकल उपकरण मर्मतका लागि प्राविधिक जनशक्तिसहितको आधारभूत प्रयोगशाला (वर्कशप) स्थापना भएको छ।
निक साइमन्स इन्स्टिच्युट नामक गैरसरकारी संस्थाको आर्थिक तथा प्राबिधिक सहयोगमा अस्पतालले वर्कशप संचालनमा ल्याएको हो।
रक्तचाप नाप्ने सामान्य उपकरणहरु देखि बिरामीको ज्यान बचाउने भेन्टिलेटर लगायतका जटिल प्रकृतिका उपकरणहरु मर्मत गर्नसक्ने सुविधा सहितको आधारभूत वर्कशप स्थापना भई सेवा समेत सुरु भईसकेको अस्पतालका बायोमेडिकल विभाग प्रमुख उत्तम पोखरेलले जानकारी दिए।
सङ्घीय सरकार अन्तरगतका नेपालका कतिपय ठुला अस्पतालहरु र धेरैजस्तो जिल्ला अस्पतालहरुमा समेत अझै पनि बायोमेडिकल वर्कशप नभएको र प्राबिधिक जनशक्तिको अभाबमा करोडौं पर्ने उपकरणहरु संचालनमा आउन नसकिराखेको अवस्थामा बागमती प्रदेश सरकार अन्तरगतको पशुपति चौलागाईं स्मृति अस्पतालले आफ्नै वर्कशप संचालनमा ल्याएको हो।
बिगतमा उपकरणहरुमा समस्या आउदा काठमाडौंबाट इन्जिनियरहरु बोलाई मर्मत गर्दा हप्तौ सम्म सेवा अबरुद्ध भएर बिरामीहरुले ठुलो समस्या भोग्नुपरेको र उपकरण बिग्रेका कारण बिरामीहरुलाई अन्यत्र रेफर गर्नुपरेकोमा हाल समयमै उपकरण मर्मत सम्भब हुदा धेरै सहज भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा ज्ञानेश्वर श्रेष्ठले बताए।
पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट, दोलखाका अतिरिक्त जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्था तथा छिमेकी जिल्लाका सरकारी अस्पतालहरुले समेत यो सेवा लिन सक्ने अस्पतालले जनाएको छ।