काठमाडौं - विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा साइकल र्यालीको आयोजना गरिएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड युनिभर्सिटी क्लिनीकल रिसर्च युनिट नेपालले उक्त र्यालीको आयोजना गरेको हो।
ललितपुर महानगर, अलाइन्स अगनेस्ट एएमआर र युवालयको सहकार्यमा भएको र्याली कुपण्डोल, सानेपा, जावलाखेल, झमसीखेल हुँदै पाटन अस्पताल पुगेको थियो। ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा रवि शाक्य, प्रतिष्ठानका रेक्टर डा पवनकुमार शर्मा, माइक्रोबायोलोजिष्ट डा सवीना डंगोल लगायत उक्त र्याली कार्यक्रममा सहभागी थिए।
उनीहरुले एन्टीमाइक्रोबियल रेजिस्टेन्सको समस्या विश्वव्यापी रुपमा बढ्दै गएको बताएका थिए। विश्वमा प्रतिजैविक प्रतिरोध (एन्टी माइक्रोबियल रेजिस्टेन्स) को बारेमा सचेतना वृद्धि गर्दै प्रतिरोध नियन्त्रणको लागि असल अभ्यास अपनाउन प्रोत्साहन गर्ने उद्देश्यका साथ हरेक वर्ष नोभेम्वर १८ देखि २४ तारिखसम्म यो सप्ताह मनाईन्छ।