दमौली - तनहुँको भिमाद नगरपालिका–९ भानुमतिमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला स्थापना भएपछि सहज भएको छ। प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ।
भिमाद नगरपालिका(९ रिठाभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला सञ्चालनका लागि वडा कार्यालयले तीन लाख ५० हजार लगानी गरेको वडा सदस्य शिवकुमार आलेले जानकारी दिए। “मधुमेह परीक्षणका लागि पनि बजारसम्म पुग्नुपर्ने बाध्यता थियो,” उनले भने, “प्रयोगशाला सञ्चालनमा आएपछि सहज भएको छ।” उनका अनुसार पहिले बजारसम्म पुगेर मधुमेह परीक्षण गर्दा पाँच सयभन्दा बढी खर्च हुन्थ्यो भने अब स्थानीय स्तरमै रु एक सयमै हुने भएको छ।
गाउँका जनतालाई सामान्य परीक्षणका लागि बजार झर्न नपरोस् भनेर प्रयोगशाला सञ्चालनमा ल्याइएको निवर्तमान वडाध्यक्ष इमानबहादुर थापाले बताए। स्वास्थ्य केन्द्रमा ल्याव असिस्टेन्ट, अनमी, अहब, एचए र एकजना कार्यालय सहयोगी राखिएको छ।
गाउँमै प्रयोगशाला सञ्चालनमा आएपछि यहाँका स्थानीय खुसी भएका छन्। सामान्य परीक्षणका लागि पनि बजार झर्नुपर्ने अवस्थाको अन्त्य भएको भिमाद–९ का श्रीमाया आलेले बताइन्। रासस