काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिको सक्रियतामा उदयपुरमा स्वास्थ्य शिविर संचालन हुने भएको छ।
स्वास्थ्य समितिका अध्यक्ष डा संजिव सापकोटाका अनुसार संघले आगामी बुधवार त्रियुगा नगरपालिका – ११ मा स्तन क्यान्सरको बारेमा जनचेतना तथा साधारण स्वास्थ्य जाँचको लागि स्वास्थ्य शिविर संचालन गर्न लागिएको हो। उक्त शिविरमा परराष्ट्रमन्त्री डा नारायण खड्का पनि सहभागी हुने भएका छन्।
सो शिविरमा पाटन अस्पतालका क्यान्सरसम्बन्धी विशेषज्ञ डा अरुण शाहीको नेतृत्वमा चिकित्सक तथा नर्सहरुको टोली परिचालन हुने भएका छन्।
गैरआवासीय नेपाली संघ, स्थानिय जेसिस र त्रियुगा नगरपालीका वडा नम्बर ११ को सहकार्यमा हुने सो शिविरमा सहभागी भएर स्वास्थ्य सम्बन्धी सुविधा लिन संघकी कार्यकारी अध्यक्ष रविना थापाले आग्रह गरेकी छन्।
शिविर संचालनको लागि वडा अध्यक्ष सुमन्त कोइराला, जेसिसको तर्फबाट सभु थापा र डा सागर पौडेलले संयोजनको काम गरेको स्वास्थ्य समितिले जनाएको छ।
यसअघि संघले झापा र इलाममा स्वास्थ्य शिविर संचालन गरेको थियो।