विराटनगर- नव निर्वाचित प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन्। चुनावका बेला गरेको बाचा पुरा गर्दै डा शर्माले आफू निर्वाचित भएपछि व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीन वटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन्।
सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबरको सहयोग प्रदान गरेको विद्यालयका प्रद्यानाध्यापक दिलकुमार श्रेष्ठले बताए। कक्षा ५ सम्म पढाई हुँदै आएको सो विद्यालयमा १६९ विद्यार्थी अध्ययनरत छन्। त्यहाँ अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरु अध्ययन गर्ने गर्छन्। विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई डा शर्माले एकसरो न्यानो कपडा, छ÷छ थान कपी र १०÷१० वटा कलम प्रदान गरेका हुन्। त्यस्तै, विद्यार्थीको पढाईमा सहजताका लागि बाल विकास केन्द्रको एउटा कोठा र कक्षा एकको दुई वटा कोठामा बाक्लो कार्पेट पनि बिच्छाइएको हो।
सहयोग प्रदान गर्न विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सांसद शर्माका वुवाआमा लोकनाथ र होमादेवी न्यौपानेले छोराको तर्फबाट विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन् । चुनावको बाचा अनरुप विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको सांसद शर्माकी धर्मपत्नी एवं नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले बताइन्। शर्मा दम्पतीको बैवाहिक बर्षगाँठको अवसर पारेर सहयोग प्रदान गरिएको हो।