जिल्ला अस्पताल बाजुरामा सुरक्षित प्रसूति गराउने डाक्टर नहुँदा अछाम रेफर भएकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन्। गौमुल गाउँपालिका-३ माझपालीकी २१ वर्षीय भाग्य चँदारालाई स्थानीय स्वास्थ्य चौकीले जिल्ला अस्पताल पठाएको थियो। अस्पतालमा आकस्मिक प्रसूति सेवा दिने डाक्टर नभएपछि चँदारालाई अछामको बयालपाटा अस्पताल रेफर गरिएको थियो। तीन घण्टाभन्दा बढी समय लाग्ने अछामको बयालपाटा अस्पताल नपुग्दै उनले बाटोमै बच्चा जन्माएकी हुन्।
उनलाई यो यात्रामा गौमुल गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी रमा थापाले साथ दिइन्। उनकै सहयोगमा भाग्यले बुढीगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमै बच्चा जन्माएकी थिइन्। जोखिमपूर्ण हुँदाहुँदै बाटोमै सुत्केरी गराउने अनमी थापाले स्वास्थ्यखबरकी अन्शु खनालसँग कुरा गर्दै आफ्नो अनुभव यसरी सुनाइन्:
गत बुधवार साँझ असहज भए जस्तो लागेर भाग्य घर नजिकैको माझपालीको आधारभूत स्वास्थ्य केन्द्र पुगेकी रहेछिन्। स्वास्थ्य केन्द्रमा उनको रक्तचाप बढेको देखिएछ। केन्द्रका नर्सहरुले आत्तिएर रक्तचाप बढेको हुन सक्ने भनेर भाग्यलाई घरै गएर आराम गर्न पठाएका रहेछन्। हिजो बिहिबार बिहानै फेरि भाग्य स्वास्थ्य केन्द्र पुग्दा उनको रक्तचाप कम भएको रहेनछ तर व्यथा भने सुरु भइसकेको रहेछ। आधारभूत स्वास्थ्य केन्द्रका नर्सहरुले भाग्य आत्तिएको देखेर मलाई फोन गर्नु भयो।
मैले त्यहाँ सुत्केरी गराउन नसक्ने भए गाउँपालिकाको नजिकै रहेको घटमुना आधारभूत अस्पताल पठाउन भनिहालें। आधारभूत स्वास्थ्य केन्द्र देखि घटमुना आधारभूत अस्पताल पुग्न करिब तीन घण्टा लाग्छ। भाग्यलाई स्ट्रेचरमा तीन घण्टा बोकेर आधारभूत अस्पताल ल्याइपुर्यातए। अस्पताल आउँदासम्म पनि उनको रक्तचाप बढी नै थियो। उनलाई बाटोमा आउँदा आउँदै कम्पन आउन थालेको रहेछ, त्यस्तै अक्सिजन लेभल पनि कम भएको थियो। अस्पतालमा नर्सहरुलाई तयारी अवस्थामा रहन भनेर म सडक जोडिएको बाटोसम्मै पुगेको थिएँ। सडक जोडिएको बाटोसम्म बस पनि पठाएका थियौं तर उनलाई धेरै गार्हो भएको भनेपछि म पनि गएको हुँ।
अस्पताल ल्याएर प्राथमिक उपचार गरेपछि उनमा थोरै परिवर्तन आएको जस्तो भयो। तर उनलाई त्यहीँ सुत्केरी गराउनु हामीलाई निकै जोखिमपूर्ण लाग्यो। एक तर्फ उनी बेस्सरी आत्तिएकी थिइन् भने अर्कोतर्फ अस्पतालमा पर्याप्त साधन थिएन। उनको अवस्था हेर्दा बच्चा प्राकृतिक हिसाबले जन्मिएला जस्तो पनि थिएन। त्यसकारण उनलाई सुत्केरी गराउन जिल्ला अस्पताल बाजुरा रेफर गरियो।
बसमा जाँदा आधारभूत अस्पताल र जिल्ला अस्पतालको दुरी एक/डेढ घण्टाको हो। बाटोमा केहि असहज हुन्छ की भनेर म र एकजना अर्की नर्स पनि उनीहरु संगै गयौं। जिल्ला अस्पताल पुग्दा थाहा भयो की प्रसूति गराउने डाक्टर बिदामा रहेछन्। त्यहाँ भएका एकजना डाक्टरले हामीलाई फेरि अछामको बयलपाटा अस्पताल रेफर गरे। त्यो समयमा जिल्ला अस्पतालको एम्बुलेन्स पनि उपलब्ध थिएन। जिल्ला अस्पताल बाजुरा र बयलपाटा अस्पतालबीच तीन घण्टाको दुरी छ।
भाग्यको अवस्था झन् झन् बिग्रिदै थियो। लोकल जिपमा चढेर बयलपाटा अस्पताल जाँदै गरेका हामी आत्ति सकेका थियौं। बुढीगंगा नगरपालिकाको बार्जुगाड नजिकै पुग्दा बिरामीले दिशा आए जस्तो भयो भनिन्। त्यही समयमलाई बच्चा पो जन्मिने हो की भने जस्तो लाग्यो र बस रोक्न भनें। त्यसको केहि समय अगाडि शेरा भन्ने ठाउँमा हामीले उनलाई एउटा सुई लगाएका थियौं।
नभन्दै, भाग्यलाई त्यहीं व्यथाले च्याप्यो। बसभित्र बच्चा पाउने जस्तो ठाउँ नै थिएन्। मैले आफूले ल्याएको एउटा सल र भाग्यले ल्याएको एउटा पातलो ब्लान्केट भुईमा ओछ्याएँ। भाग्यले बाटोमै बच्चा जन्माइन्। हामीले जिल्ला अस्पतालमै डाक्टर होलान् र त्यहीं बच्चा जन्मिएला भन्ने सोचेर धेरै सामान बोकेका थिएनौं। सुत्केरी भइसक्दा पनि उनको रक्तचाप घटेको थिएन्।
बच्चा जन्मिदा उनको बच्चा निस्किने भाग थोरै च्यातियो। हामीसँग सिलाउने साधन थिएन्, अब सुत्केरीलाई बयलपाटा लाग्ने की जिल्ला नै फर्काउने दोधार भयो। हामी करिब दुई घण्टा लगाएर जिल्ला अस्पताल बाजुरा नै फर्कियौं। अहिले सुत्केरी डाक्टरको निगरानीमा जिल्ला अस्पताल मै छिन्। उनको अहिले रक्तचाप पनि घट्दै छ। बच्चा पनि स्वस्थ छ।
भएका स्रोतसाधन प्रयोग गरेर बाटोमै सुरक्षित प्रसूति गराइयो, आमा र बच्चा दुवै सुरक्षित हुँदा निकै खुसी लागेको छ। सुत्केरीले पनि मलाई धेरै धन्यवाद दिईन्।
हामी दुर्गममा बसेर काम गरिरहेका छौँ। यहाँको दुख सरकारले कहिले देख्ला खै। यो पानी नपर्ने मौसम थियो र समयमै गाडी भेटियो। अस्पताल सम्म पुर्याउन सक्यौं। पानी पर्ने मौसममा त झन् कठिन हुन्छ। आमा र बच्चा दुवैको ज्यान जान सक्थ्यो।
सरकारले सबै गाउँपालिकाहरुमा र स्वास्थ्य चौकीहरुमा डाक्टरहरुको व्यवस्था गरिदिए हुन्थ्यो। प्रजनन् स्वास्थ्यको विषयमा धेरै जनचेतनामूलक कार्यक्रमहरु हुन्छ, भइरहेकै छ तर पनि आवश्यक परेको समयमा डाक्टरहरु उपलब्ध नहुनाले धेरै आमा र बच्चाको ज्यान गइरहेको छ। सरकारले सबै स्थानीय तहमा डाक्टरहरुको, आवश्यक स्रोत साधनको परिपूर्ति गर्दिए हुन्थ्यो। डाक्टरको पहुँच भएको भए यतिका घण्टा हिडेर जान पर्दैन थियो, धेरै कुरालाई सहजहुन्थ्यो। सुत्केरीलाई कति पिडा भयो, बिरामी बोकेर त्यत्रो घण्टा हिड्नेहरुलाई पनि उत्तिकै गार्हो हुन्छ। यी सबै कुरामा सरकारको छिट्टै ध्यान जावोस्।