बर्दिया– बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर भएको छ। बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ।
शीतलहरसँगै जाडोका कारण जनजीवन प्रभावित बनेका छन्। शीतलहरका कारण वृद्धवृद्धा र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको संक्रमण बढेको छ।
चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न सुरु गरेका छन्। दिउँसो अलि–अलि घाम लागे पनि बिहान–बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको बर्दिया मधुवनका यामप्रसाद शर्माले बताए।
शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको छ। शीतलहरले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पु¥याएको मधुवन नगरपालिका–८ का कृषक टोपबहादुर भाटले बताए। रासस