काठमाडौं- काठमाडौँको कंकेश्वरीस्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र-१९ ले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। १९ नम्बर वडा कार्यालय, एम डि एम फ्रान्स (विश्वका चिकित्सकहरु) र काठमाडौं महानगरपालिका (स्वास्थ्य विभाग) सँग सहकार्य गरेर शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र-१९ ले पहिलो शिविर सम्पन्न गरेको हो।
“फोहरको दिगो व्यवस्थापनका लागी स्वस्थ सफाईका बाहकहरु”परियोजना अन्तर्गत यस शिविर आयोजना गरिएको थियो। एमडीएम फ्रान्स (विश्वका चिकित्सकहरु) ले परियोजनालाई आर्थिक तथा प्राविधिक रुपमा सहयोग गर्दै आएको छ। उक्त स्वास्थ्य शिविरमा मेडिकल डाक्टरद्वारा १६० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो भने निःशुल्क ब्लड ग्रुपिंङ, सुगर टेस्ट, इसीजी, भिडियो एक्सरे आदिको सुबिधा रहेको थियो। शिविरमा बिरामीहरुलाई आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो। शिविरमा स्वास्थ्यकर्मीहरु, महिला सामूदायिक स्वास्थ्य स्वयंसेविका, वडा -१९, काठमाडौँ महानगरपालिका, एमडीएम फ्रान्स, संयुक्त सफाई जागरणका कर्मचारीहरुको सहभागिता थियो।
मेड्सा डु मोण्ड– फ्रान्सको आर्थिक तथा प्राविधिक सहयोगमा काठमाडौँ महानगरपालिका वडा नम्बर १९, कंकेश्वरीस्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र-१९ बाट सरसफाईकर्मीहरुले तथा सामुदायका मानिसहरुले लाभ लिइरहेका छन्। यस प्रवर्द्धन केन्द्रमा मेडिकल डाक्टर, स्टाफ नर्स, ल्याब असिस्टेन्ट, हेल्थ असिस्टेन्ट र आइपीसी सपोर्ट स्टाफमार्फत गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गरिन्छ। महानगरस्तरीय आवश्यक सुविधा सम्पन्न भएको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र १९ पहिलो हो। फोहरमैलामा संग्लग्न रहेका सरसफाईकर्मीहरुलाई पेशाजन्य स्वास्थ्य सेवा र टिडी खोप समेत निःशुल्क प्रदान गरिन्छ।