काठमाडौं- मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलहरुको बैठक स्थगित भएको छ। बैठक स्थगित भएपछि स्वास्थ्य मन्त्रालय कुन दलले पाउने भन्ने टुंगो लाग्न सकेको छैन।
स्वास्थ्य मन्त्रालय अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैंसँग राखेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए।
तर भेटमा मन्त्रालयको टुंगो लाग्न सकेन। गठबन्धनको सबभन्दा ठूलो दल एमालेले दाबी १२ मन्त्रालयमा छ।
मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका थिए।
मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयबारे छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री दाहालको निजी निवास खुमलटार पुगेका हुन्।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले पुस ३ गते एक सूचनामार्फत् पुस १० गतेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी थिइन्। संविधानको धारा ७६ (२) अनुसार दाबी पेस गर्न भनिएकोमा प्रचण्डले आइतबार दाबी गरेका थिए।
प्रचण्डको दाबीमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जसपाको साथ छ। त्यस्तै, स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र डा अमरेशकुमार सिंहको पनि साथ छ।
प्रचण्ड प्रतिनिधि सभाको तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलको नेता हुन्। २७५ सदस्यीय प्रतिनिधि सभामा माओवादी केन्द्रको ३२ सिट मात्रै छ। उनले सत्ता गठबन्धनको मुख्य दल र प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसको साथ लिएर सरकारको नेतृत्व गर्ने प्रयत्न गरेका थिए। तर कांग्रेस सभापति देउवाले उनलाई प्रधानमन्त्री बन्न नसघाउने भएपछि आइतबार नै एमाले लगायतका दलसँग सहमति गरेर प्रधानमन्त्रीमा दाबी गरेका थिए।