महोत्तरी- महोत्तरी जिल्ला अदालतले डा पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। दाइजोसम्बन्धी कसुरमा परेको मुद्दामा अदालतले शुक्रबार रामगोपालपुर नगरपालिका ५ स्थायी घर भएका डा चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
डा चौधरीको श्रीमती नेहा चौधरीले दाइजोसम्बन्धी कसुरमा अदालतमा मुद्दा दायर गरेकी थिइन्। नेहाले दायर गरेको मुद्दामा भएको थुनछेक बहसपछि जिल्ला अदालतलका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले डा चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
औरही–१ की २१ वर्षीया नेहा र पंकजको गत वर्षको फागुन २५ गते विवाह भएको थियो। उनीरुको सामाजिक परम्परा अनुसा विवाह भएको थियो। विवाह भएको केही महिनापछि नेहाले सामाजिक सञ्जाल मार्फत श्रीमान र परिवारका अन्य सदस्यले आफूमाथि दाइजोको नाममा हिंसा गरिरहेको सार्वजनिक गरेकी थिइन्।
दाइजोमा पंकजको परिवारले घर माग गर्दै आफूमाथि हिंसा गरिरहेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालयमा महोत्तरीमा जाहेरी दिएकी थिइन्। विवाह अघि नै डा चौधरीले २५ लाख दाइजो लिएको नेहाले दिएको जाहेरीमा दाबी गरिएको छ।
नेहाले घरेलु हिंसासहित दाइजो, मानाचाम र अंश मुद्दा समेत दिएकी छिन्। पंकजले भने सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।
हिंसा र दाइजोसम्बन्धी विषयमा डा पंकज विवादमा आएपछि काठमाडौंको ग्रान्डी अस्पतालले उनलाई सेवाबाट निकालेको थियो।
३ वर्षअघि काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दै गर्दा महोत्तरी औरहीकी नेहासँग पंकजको भेट भएको थियो। त्यसपछि प्रेममा परेका उनीहरुले २०७७ फागुन ६ गते टिकाटालो गर्दै एक वर्षपछि २०७८ फागुन २५ गते विवाह गरेका थिए।
नेहाको माइती पक्षले ५१ लाख रुपैयाँसहित २० तोला सुन दाइजो दिएको बताउँदै आएको छ। दाइजो कम भएको भन्दै श्रीमान् पंकज र परिवारले आफूलाई मानसिक तनाव दिने थालेको नेहाले सार्वजनिक गरेकी थिइन्।
यसबीचमा प्रहरीले पंकजलाई पक्राउ गरेर सम्झाई–बुझाई गरेर छाडेको थियो। त्यसपछि पनि दाइजोको निहुँमा घरेलु हिंसा हुने क्रम नरोकिएको भन्दै नेहाले पति पंकजविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्।