काठमाडौं- दोस्रो नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी माघ ६ देखि काठमाडौंमा हुने भएको छ। भृकुटी मण्डप प्रदर्शनीस्थलमा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसी सम्बन्धी प्रदर्शनी हुँदैछ।
प्रदर्शनी मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको हो।
उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल रहने छन्। प्रदर्शनी, सम्मेलन र साझेदारी गरी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापारका अवसरहरू बढाउने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको हो।
नेपालमा भित्रिने औषधोपचारका सामग्रीहरूमा भारत ८० प्रतिशत आयातको साझेदार रहेको अवस्थामा अन्तर्राष्ट्रिय प्रदर्शनीले भारतीय उपमहाद्वीपका विभिन्न सरोकारवालाहरूको ध्यानाकर्षण गर्न मद्दत गर्ने अपेक्षा लिइएको छ। नेपाली चिकित्सा प्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्नउत्कृष्ट अवसरहरू सिर्जना गर्नका लागि पनि यो प्रदर्शनीले उल्लेखनीय भूमिका निर्वाह गर्ने दाबी गरिएको छ।
प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने उल्लेख छ।
प्रदर्शनीेले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरूसहित बिजनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीतिनिर्माताहरू र उद्योगी व्ययसायीलाई एकसाथ समेट्ने छ। प्रदर्शनीमा आउन चाहने इच्छुकहरूलाई प्रवेश निःशुल्क
गरिएको छ। प्रदर्शनीमा सहभागी हुन चाहनेलाई दर्ता खुला गरिएको छ।