काठमाडौं- मधेस प्रदेशको मुख्यमन्त्रीमा पूर्व स्वास्थ्य राज्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन्। उनी २०६८ सालमा स्वास्थ्य राज्यमन्त्री भएका थिए। उनी स्वास्थ्य राज्यमन्त्री हुँदा वीर अस्पतालमा पत्रकारलाई दुर्व्यवहार गरेपछि विवादमा आएका थिए।
प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन्।
१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ। केन्द्रमा संघीय सरकारका लागि बनेको सत्ता समीकरणअनुसार यादवलाई ६ वटा पार्टी र स्वतन्त्र गरी ६३ प्रदेश सभा सदस्य (सांसद)को समर्थन छ।
मधेस प्रदेश सभाका निवर्तमान सभामुख समेत रहेका यादवलाई उनको दल जसपाका १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ तथा स्वतन्त्र सांसदसहित ६३ सांसदको समर्थन छ।
यादव सोमबार मात्रै जसपा संसदीय दलको नेता चयन भएका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट २०७४ सालमा मधेस प्रदेश सभाको सभामुख चयन भएका यादव पार्टी एकीकरणपछि जसपामा आएका थिए। पछि जसपा विभाजन हुँदा (महन्थ ठाकुर पक्षले लोसपा गठन गर्दा) यादव जसपामा (उपेन्द्र यादवको पक्षमा) लागेका थिए।