आँखालाई आत्माको ढोका पनि भन्ने गरिन्छ। आँखामा नियालेर हेर्न जान्नेले मनको कुरा थाहा पाँउछ पनि भनिन्छ। कहिलकाँही त हो जस्तो पनि लाग्छ। आँखा नै त्यस्तो प्रकृतिको एक अमूल्य उपहार हो जसले प्रकृतिको महिमा झन बढाईदिएको छ। हुन त भित्री आँखा पनि हुन्छ जसले दृष्टिविहीनहरुले हेर्ने र महसुस गर्ने गर्छन भनीन्छ। आजको हाम्रो चर्चाको विषय भनेको आँखामा आउन सक्ने समस्या र बच्ने उपाय हो है त।
आँखाको बारेमा केही चर्चा गर्नुपूर्व छुटाउनै नहुने नाम डा सन्दुक रुइत जसले आफैंले एकलाख भन्दा बढी मानिसको मोतीबिन्दुको सफल शल्यक्रिया गरी दुष्टि दिनुका साथै तिलगंगा आँखा अस्पतालमा महत्वपूर्ण भूमिका निर्वाह गरेर हामी माझ 'दृश्यका देवता ' (गड अफ साइट) भनेर चिनिनुभएको छ; उहाँप्रति सदैव नमन।
अब सुरु गरौँ हाम्रा कुरा।
आँखा शरीरको संबेदनसिल अङ्ग हो। प्राय मानिसमा आजभोलि आँखा पाक्ने, सुख्खा हुने, आनो आउने, नजिक वा टाढाको देख्न गार्हो हुने, उमेरअनुसार आँखा कमजोर हुने मोतिबिन्दु, जलबिन्दु जस्ता समस्या देखिएका छन्। खासै त्यती वास्ता नगरिने रोगहरूमा; लामोसमय सम्म उच्चरक्तचाप र मधुमेहले गर्दा रेटिनामा असर पुर्याई क्रमश दुष्टिबिहीन पनि बनाउन सक्छन। त्यसैले त्यस्ता बिरामीले ६/६ महिनामा आँखा जाँच्नु अपरिहार्य छ।
आजकल टाउको दुख्ने साथसाथै आँखाको गेडी दुख्यो भनेर पनि धेरै बिरामी अस्पताल जानुहुन्छ। टाउकोको सम्बन्ध शरीरका विभिन्न अङ्गसँग हुन्छ, त्यसैले टाउको दुख्नुमा शरीरका अन्य अङ्गको भूमिका रहन्छ। शरीरका धेरै अङ्गमध्ये टाउको दुखाइमा ठूलो भूमिका खेल्ने अङ्ग आँखा पनि हो। टाउको दुख्नुका कारण र बच्ने उपाय बारे छलफल गरौँ है त।
कारणहरू
१. नजिकको काम धेरै गर्नु
प्रविधिको जमानामा मोबाइल, ल्यापटप, इन्टरनेटमा व्यस्त नहुने सायदै होलान्।यसका साथै पढ्ने, लेख्ने क्रियाकलाप पनि नजिकबाटै गरिने काममा पर्छन्। लामो समयसम्म नजिकको काम गर्दा आँखाका मांसपेशीहरु थकित हुने हुँदा आँखा दुख्नुका साथै टाउको दुख्ने समस्या निम्तिन्छ।
२. डिजिटल सामग्रीको अत्यधिक प्रयोग
मोबाइल, ल्यापटप, टिभी, कम्प्युटर, भिडियो गेम जस्ता सामाग्रीको अत्यधिक प्रयोगले आँखालाई असर गर्छ, यस्ता सामग्रीको बढी प्रयोगले आँखा दुख्ने, आँखा सुक्खा हुने, टाउको दुख्ने, ढाड तथा काँध दुख्ने जस्ता समस्या निम्तिन्छन्। आजकल त साना बच्चाको खाना खुवाउने ,भुलाउने माध्यम नै मोबाइल भएको हुँदा सानै उमेरमा चस्मा लगाउने पर्ने बाध्यता साथै पछि गएर आँखामा ठूलै समस्या समेत आउन सक्छ।
३. दृष्टिदोष
दूरदृष्टि, अदूरदृष्टि, दृष्टिवैषम्य तथा ४० वर्ष लागेपछि हुने प्रेस्ब्योपिया दृष्टिदोषका केही प्रकार हुन्। सामान्य रुपमा बुझ्दा उमेरसँगै आउने आँखाको लम्बाइ तथा नानी र लेन्समा आउने परिवर्तनका कारण दृष्टिदोस हुनेगर्छ।
दृष्टिदोष भएका व्यक्तिलाई धमिलो देखिने, छिटो थकान महसुस हुने, आँखा दुख्ने, लेख्न–पढ्न र काम गर्न गाह्रो हुने साथै टाउको दुख्ने समस्याले पिरोल्छ। यस बाहेक कहिलेकाहीं दृष्टिदोस मेटाउन प्रयोग गरिने चस्मामा गलत पावर रखियो वा गलत तरिकाले फिटिङ भएको चस्मा प्रयोग गरियो भने समस्या निर्मूल हुनुको साटो झन् बढेर जान्छ।
४. आँखाका अन्य रोग
आँखाको वरपर तथा भित्री भागमा लाग्ने धेरै रोगहरू ; नानीमा हुने घाउ, आँखाको ढकनीमा आउने आनो, अकस्मात आँखाको प्रेसर बढ्नु जस्ता रोगमा पनि आँखाका समस्यासँगै अत्यधिक टाउको दुख्ने लक्षण देखिन्छ। हर्पेस नामक भाइरसको इन्फेक्सनमा र माइग्रेन भएका बिरामीमा अत्यधिक टाउको दुख्ने समस्या देखिन्छ।
बच्ने उपाय के त?
– आरामदायी तथा सहज मुद्रामा काम गर्ने बानी बसाल्ने तथा स्क्रिन को उज्यालोपन र अक्षरको साइज आफ्नो अवश्यकता अनुसार फेरबदल गर्ने,
– २०/३० मिनेट काम गरेपछि कम्तिमा १ मिनेट विश्राम लिने,
– २०-२०-२० नियमको प्रयोग गर्ने (जसलाई २० मिनेट काम गरेपछि २० सेकेन्ड विश्राम तथा २० फिट टाढा रहेको कुनै वस्तुलाई केही समय हेर्ने भनिन्छ),
– कृत्रिम आँसु थोपाको प्रयोग गर्ने
– समयमै आँखा जाँच गराई आँखाको एक्सरसाइज वा थेरापी गर्ने,
– आधिकारिक स्थानमा आँखा जाँच गराई यदी चाहिएमा उचित्त पावरवाला चस्मा वा कन्ट्याक्ट लेन्स लगाउने,
– यदि दृष्टिदोष छ भने पनि अपरेसन गरी हटाउन सकिन्छ
_ समय समयमा आँखा जाँच गराई जलबिन्दु, मोतिबिन्दु भए नभएको ख्याल गर्ने र यदि भएमा पनि अवस्था हेरी औषधि र शल्यक्रिया गरी ठिक पार्न सकिन्छ।
माथि उल्लेखित कारण र उपाय उदाहरण मात्र हुन। मुख्य कुरा त समय समयमा आँखा जाँच गर्ने नै प्रमुख उपाय हो। आँखा रातो त भएको हो, सामान्य चोट लागेको हो भनी हेलचक्र्याइ नगरौँ है। अझै मधुमेह ,उच्च रक्तचाप भएका बिरामीले त विशेष ख्याल राख्नुपर्छ।
लौ त टाउको दुखेका कारण भन्दै गर्दा मेरो नी टाउको दुखेजस्तो भो; लगातार मोबाइल हेरिराखेर हो की; एकछिन आँखालाई आराम दिन्छु। हजुरहरू पनि बेलाबेला आँखालाई आराम दिनु है त।