फेसबुके र युट्युबेहरुलाई देखेर दिक्दार मानिरहेको बाघको मुर्ति मलाई देखेर लामो सास फेर्यो। अनुहार र जिउडाल ठ्याक्कै बाघसँग मिल्दोजुल्दो नभएपनि हेर्दा खाउँला जस्तो गरेर रिसाएको बाघ एकाएक मुस्कुराउन थालेपछि त्यहाँ छेउछाउका मानिसहरुमा पनि कौतुहलता जाग्यो।
'बाघको अनुहार र जिउडाल त मिल्दो जुल्दो छैन है' पछाडीबाट कोहि प्याच्च बोल्ने जमर्को गर्यो । 'बोली भुईमा झर्न नपाउदै मुर्ति बनाउने मान्छे डराएर थरथर काप्दै बनाएर होला अनुहार नमिलेको' अर्कोले भन्यो।
तर कुरा त्यस्तो थिएन, बाघ केही बोल्न खोजिरहेको थियो। मलाई केही सुनाउन खोजिरहेको थियो। तर मानिसहरुको भिड र मानिसहरुले गर्ने व्यवहारको कारणले उसले कसैलाई केही कुरा भन्न सकिरहेको थिएन।
मसँग भने केही बोल्न खोजेझैं गरेर मुसुमुसु हास्दै थियो। मलाई पनि केही अनौठो भान भईरहेको थियो, कुनै अदृश्य शक्तिले यो बाघको कुरा सुन्देउ भनेर मलाई जोड गर्दै अगाडि धकेलेझै लाग्दैछ। मलाई बाघको कुरा सुन्ने ईच्छा जागेर आयो। बाघको नजिकै गएर आँखा जुधाएँ। सायद बाघले कुरा बुझिसकेको थियो, म उसको कुरा सुन्न तयार छु भनेर।
बाघले आफ्ना सबैकुरा मलाई बताउँदै गयो मैले अझ सुन्ने चाहना गरेँ। धेरैबेर नजिकै रहेर कुराकानी भयो। म कतिबेला खुसी हुन्थेँ कति बेला भावुक हुन्थेँ बाघको काहानी सुन्दा।
कतिबेला त एकदमै ठुलो आवाजमा समर्थन जनाउदो रहेछु। वरिपरिका मानिसहरुलाई लाग्दो रहेछ कि यो मानिसलाई भुत लाग्यो तर पनि केही गर्न नसकि रमिता हेरेको हेरेइ गर्दैरहेछन्।
मलाई ति वरिपरिका मान्छेहरुको बारेमा केही याद थिएन। अनुहार नमिलेको र जिउ पुरै भद्दा भएको भएपनि मलाई त्यो बाघ साह्रै सुन्दर लागिरहेको थियो। उसका ति बिचारहरु साह्रै उत्तम थिए। जति सुन्यो सुनौ सुनौ लाग्ने थियो। मर्मस्पर्शि, वास्तविकतामा आधारित र चेतनामुलक थिए।
अचम्म लाग्दै थियो एउटा बाघको मुर्तिले यति धेरै कुराहरु गर्न सक्दछ। यति महत्वपूर्ण सन्देशहरु दिन सक्दछ। मानिसको जिवनशैलीको बारेमा यो जनावरको मुर्तिलाई यति धेरै चिन्ता रहेछ।
मलाई त्यो बाघको मुर्ति बनाउने महान व्यक्तिलाई भेट गर्न मन लाग्यो। अनि मैले जान्ने ईच्छा प्रकट गरे। उसको बारेमा त्यति धेरै जानकारी नभएको तर काठमाडौंबाट आएर केहि दिनमा तयार गरेर गएको भन्ने बारेमा सोहि बाघले जानकारी दियो।
कुराकानी एकदमै उपलब्धि मुलक भईरहेको थियो। अचानक बाघको अनुहार केहि अँधेरो भयो। बाघ एकाएक मलिन भयो अनि बोल्नै नसक्ने अवस्थामा पुग्यो। पछि मात्र जानकारी प्राप्त भयो कि स्थानीय सकारले त्यो भाईरल बाघको मुर्ति परिवर्तन गर्नै निर्णय गरेछ। सायद त्यही जानकारी पाएर होला बाघको अनुहारमा सन्नाटा छाएको।
त्यसपछि सो बाघको मुर्ति पटक्कै बोलेन। म मुस्कुरारए कति नजिक गए तर मुर्तिले केहि प्रतिक्रिया दिएन।
मेरो मनमा अनेकौ तरङ्गहरु उत्पन्न हुन थाले, मलाई अझ धेरै जानकारी प्राप्त गर्नै ईच्छा जाग्यो र त्यो मुर्ति बनाउने भाई खोज्दै काठमाडौंको यात्रा तय गरेँ। रात्रीबसमा हिन्दीमा डब गरिएको तेलंगु फिल्म लागिरहेको थियो। नाम थियो टाइगर। मलाई फेरि त्यहि बाघको याद आउन थाल्यो। त्यो फिल्मको हिरोको नाम टाइगर रहेछ। धेरै बलियो सबैलाई जित्ने। एकपल्ट हान्दा ५-७ जना मानिसहरु आकासमै उडाउने रहेछ। गाउँका सोझा मानिसहरुको लागि देउता समान रहेछ भने शहरका मै हु भन्ने गुण्डाहरुको भने बाह्र बजाउँदो रहेछ।
मलाई त्यो फिल्मको टाइगर र दिउँसो भेटेको मुर्तिवाला टाइगरबीच तुलना गर्न मन लाग्यो। मनमनै सोच्न थाले त्यो मुर्तिवाला बाघ पनि फिल्मको जस्तै बलियो किन नभएको, गाउँका दुखी गरिब मानिसहरुलाई किन सहयोग नगरेको, गुण्डाहरुको किन बाह्र नबजाएको। त्यो बाघ पनि यस्तै भएको भए मानिसहरु पैसा तिरेर हेर्न आउँथे होला, प्रसंशा गर्थे होला, पुरै ईलाका भरि चर्चा परिचर्चा फैलिन्थ्यो होला। तर अवस्था बिल्कुल फरक थियो। चर्चा परिचर्चा त थियो तर नकारात्मक मात्रै।
फिल्म सकिन लागेछ। सरकारले त्यो फिल्मको टाईगरलाई सम्मान गर्ने घोषणा गरेछ। सबैतिर दिपावली हुँदैथियो। भिडभाडबीच टाइगरको बिजयउत्सव मनाइँदै थियो।
आन्द्रा प्रदेश सरकारले शहरको मुल गेटमा टाइगरको मुर्ति बनाएर राख्ने महत्वपुर्ण निर्णय गरेछ। तर हाम्रो स्थानीय सरकारले भने राज्यकोष खर्चेर स्थापना गरिसकेको मुर्ति हटाउने निर्णय गरेछ। हाम्रा सरकार बनाउने भन्दा त उताका फिल्म बनाउने पो धेरै विद्वान रहेछन् कि क्या हो जस्तो लाग्न थाल्यो।
फिल्म सकिएपछी सबैजना निद्रामा मस्त भैएछ। त्यो बाघको मुर्तिले मलाई एकपल्ट त्यो मुर्ती बनाउने मान्छेसँग जसरी भएपनि भेट्नु है भन्दै अनुरोध गरिरह्यो। मैले हस हस अवस्य भन्दै चिच्याएछु। के हस् हो सर? थानकोट पुलिसले मलाई प्रश्न गर्दै रहेछन। मैले हतार हतार सपनामा बोलेको हो सर भने।
राति हेरेको फिल्मको गुण्डा जस्तै देखिएका ति पुलिसलाई सपनाको बारेमा सुनाउँझै लाग्दैथ्यो तर भनिन। काठमाडौं पनि आईपुगियो। मलाई त्यो मुर्ति बनाउने भाईसँग कसरी भेट होला भन्ने सुर्ता लागिरहेको थियो। युट्युवेहरुले पक्कै पत्ता लगाई सके होलान् भन्दै केहि आशाबादी पनि थिएँ।
नभन्दै त्यो भाईसँग भेट भयो। मैले सम्रग कहानीको बेलिबिस्तार लगाएँ। उनले कतै चिया खाएर गफ गरौ भन्ने प्रस्ताव गरे। मैले ढिला नगरिकन सहमती जनाएँ।
मैले केही भन्न नपाउँदै भाईले कुरा बुझिहाले। आजकाल जो कोही भेट गर्न आए भने त्यही बाघको बारेमा सोध्न आउँछन। अरु काम गर्न पनि पाएको छैन, दिनभर मिडियालाई जवाफ दिँदा दिँदा हैरान भएको छु। केही निराशासहित मलाई प्रश्न गरे। तपाईको क्यामरा म्यान खोई त? म एकैछिन झस्के। म कुनै मिडियाको मान्छे होईन र म रेकर्डको लागि आएको पनि होईन।
मलाई त्यो म मुर्तीले तपाईसँग एकपटक भेट्नु भनेको भएर आएको हुँ। मैले लामो श्वास लिएर जवाफ दिएँ।
तपाईंसँग त्यो मुर्ति बोल्यो? उनको प्रश्नमा मडारिएको बादलको झल्को आउँदैथ्यो। चिया लिएर आएकी दिदि पनि अचम्म मान्दै थिईन् अनि मैले पनि केहि बेर मौन रहने निधो गरेँ।
रातभरको यात्रा चिसो मौसम, एक सुरुप तातो चिया नलिईकन केहि शब्द अच्चारण नगर्ने निधो गरेँ। हो मसँग पनि त्यो मुर्ति बोल्यो। ति भाईले आफै कुरा सुरु गरे।
दुवैका कुरा सुनिरहेकी ति चियावाली दिदिले भन्दै थिइन्। यो भाईहरु बिहान बिहानै भाङ खाएर आएको छन् कि क्या हो?
अलि लामो नै कुराकानी हुने छाटकाट हुँदैथ्यो। त्यो साघुँरो चिया पसलमा बसेर कुराकानी गर्न अलि असहज भान भयो। त्यसमाथि त्यो दिदिको उत्सुकता।
पारिलो घाम लागिसकेको थियो, नजिकैको पार्कमा बसेर गफ गर्ने सल्लाह भयो। मैले एक माना बदाम र एक केजी सुल्तला किनेँ।
दुवैजना भुईमा बसेर नुन खुर्सानीसँग बदाम खाँदै गफ गर्न लागियो।
खुसी लाग्यो तपाईंलाई भेटेर। उनले कुरा सुरु गरे। मैले मुसुक्क मुस्कुराएर सहमति जनाएँ।
उनले सुनाएको कुराहरु जस्ताको तस्तै यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु।
मैले मुर्ति बनाउँदै गएँ। धेरै लामो अनुभव भएको र एकदमै जटिल खालका मुर्तिहरु बनाईसकेको हुनाले बाघको मुर्ति बनाउन मलाई खासै चुनौति थिएन।
मुर्ति लगभग सकिनै लागेको थियो। एक्कासी मेरो जिवनमै पहिलोपल्ट अचम्म भयो, मुर्ति बोल्न थाल्यो। म भाईरल हुने खालको मुर्ती बनाउनु ल। मुर्तीले भन्यो।
यति राम्रो मुर्ति त भाईरल हुँदैन हजुर। भाईरल हुन त भेलु बाजे जस्तो अपशब्द बोल्नुपर्छ, एक करोडको चाउमिन खान्छु भन्ने भाई जस्तो हुनुपर्छ। मैले जवाफ पर्काएँ।
जे जस्तो होस मलाई भाईरल बनाईदिनु। अनि मैले मुर्तीलाई मोडीफाई गरेँ। अनि यो सबै कुरा किन मिडियामा नभन्नु भएको त? मैले जिज्ञाशा राखे।
यो स्वार्थी जाली दुनियाले यस्ता कुरा कहाँ बुझ्छ र सर, मिडियामा भनेको भए मलाई पागल भन्थे। मैले बाघलाई कस्तो रुप दिउँ भनेर सोधेँ। एकदमै मोटो, मुख ठुलो भएको हेर्दै सुंगुर जस्तो। सर्पको आकार भएको, अर्को कुकुर जस्तो देखिने, अर्को भ्याकुता जस्तो, छेपारो जस्तो डाएनोसर जस्तो, कङ्गारु जस्तो, मुख बाङ्गो भएको यी सबै बाघका मुर्ति मैले नै निर्माण गरेको हुँ।
मलाई आश्चर्य लाग्यो। ति सबै मुर्ति बनाउन लगाउनुको कारण के रहेछ?
ति सबै मुर्तिको अनुरोध सोही बाघको मुर्तिले गरेको हो। राम्रो मुर्ति २-४ जनाले हेर्छन जान्छन खासै चर्चा परिचर्चा हुँदैन। फेमस हुनका लागि कुकुर जस्तो भ्यागुता जस्तो सुंगुर जस्तो नै किन त?
सर्पको जस्तो आकार किन बनाएको भन्दा आजकाल मान्छे सर्प भन्दा बढी बिसालु छन्। आफ्नो स्वार्थको लागि अरुलाई डसीरहन्छन्। भ्यागुता जस्तो चाहिँ जहिले ठुलो गर्नै मेहेनत नगर्ने। छेपारा जस्तो चाहिँ रुप फेरेको फेरेइ गर्ने भएर। कुकुर जत्तिको पनि बफादारी नहुनु। कङ्गारु जस्तो भन्नाले आफनो बच्चालाई मानिसले स्तनपान पनि गराउन छाडे त्यही भएर।
अनि रह्यो मोटो अनुहार फुलेको बङ्गुर जस्तो बाघको कुरा चाहिँ आजकाल मानिसको जिवनशैली परिवर्तन भईसकेको छ। नसर्ने रोगको बिगबिगी छ। नसर्ने रोगको कारणबाट मृत्यु हेनेको संख्यामा बृदि भईरहेको छ। अस्वस्थ जिवनशैली अस्वस्थकर खानपिन मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग जस्ता व्यवहारहरुले गर्दा मानिसहरुको जिवन कष्टकर बन्दै छ।
झण्डै २९ प्रतिशत बयस्कहरुले कुनै न कुनै किसिमका सुर्तिजन्य पदार्थ र २४ प्रतिशतले निरन्तर मध्यपानको प्रयोग गरिरहेका छन्। जसमध्ये ५१ प्रतिशतले घरेलु रक्सीको प्रयोग गरेका छन् जसको मात्रा र गुणस्तर मापन गर्न कठिन छ।
९७ प्रतिशतले खानामा उचित फलफुल र तरकारीको मात्रा मिलाएर खाने गरेको छैनन्।
दैनिक रुपमा खानामा ९ ग्रामसम्म नुनको प्रयोग गर्ने गरेका छन् जुन अत्यन्तै बढी हो। झण्डै ११ प्रतिशत किशोर किशोरीहरुमा शारीरिक निश्कृयता देखा परेको छ। २० प्रतिशतमा मोटोपन देखा परेको छ।
२५ प्रतिशतमा उच्च रक्तचाप जाँच गराएकामध्ये ६ प्रतिशतलाई डायबेटिज ११ प्रतिशतलाई कोलेष्ट्रोलको उच्च मात्रा र ७५ प्रतिशत वयस्कहरुलाई मानसिक तनाव सम्बन्धी समस्या देखा परेको छ र यो अवस्था एकदम बढ्दो क्रममा छ।
डायबिटिज हाईपर्टेन्सन तथा मुटु रोग क्यान्सर जस्ता रोगहरु घर घरमा देखिन थालिसके। जुनसुकै उमेरका व्यक्तिहरुमा पनि नसर्नै रोगको जोखिम देखापर्दै छ। सबै रोगका जोखिम तत्वहरु लिएर मानिसहरुको स्वरुपनै बिग्री सक्यो। हेर्दै बङ्गुर झै मोटो भएको प्यारालाईसिसले मुख बाङ्गिएको क्यान्सरले गर्दा सुकेनास तथा थाइराईडले आँखा बाहिर आएको देखिन थाले त्यसैको समग्र प्रतिनिधित्व गर्दै यो मुर्तिको निर्माण गर्ने अनुरोध गरेको हुँ।
अरु सबै त आयो यो डायनोसर नि ? मैले अन्तिम जिज्ञासा राखेँ।
अब सबै रोगी बएपछि बिलय त निश्चय नै हुन्छ नि सर। डायनोसर झै मानिसको पनि बिलय होला है। आजैबाट सकारात्मक व्यवहार परिवर्तन गरौं। भन्ने सन्देश दिन खोजेको।
एउटा जनावर त्यहीमाथि मुर्ति कस्तो राम्रो सन्देश दिन खोजेको।
मलाई त्यो बाघको मुर्तिप्रति सम्मान बढ्यो। एकपल्ट आम्ने साम्ने भेटेर फेरि कुरा गर्न मन लाग्यो। त्यो मुर्तिलाई परिवर्तन नगरी सोहि कायम गर्नका लागि स्थानीय सरकारलाई अनुरोध गर्न मन लाग्यो। देशभर यस्तै सन्देश दिने भाईरल मुर्तिको स्थापना गर्न मन लाग्यो। साँच्चिकै भन्नुपर्दा आफैलाई मुर्ती निर्माण गर्न मन लाग्यो।
मुर्तीकार बन्न मन लाग्यो। संसार भर सकारात्मक सन्देश फैलाउन मन लाग्यो। नसर्ने रोगविरुद्ध अभियान चलाउन मन लाग्यो।