काठमाडाैं- कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा शुरू गरेको छ। दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा. युवानिधि बसौलाले एक महिनादेखि इन्डोस्कोपी सेवा प्रदान गर्न थालिएको जानकारी दिए।
इन्डोस्कोपी मुखदेखि पेटसम्म समस्या पहिचान गर्न गरिन्छ। सरकारी अस्पताल कान्तिमा मात्र बालबालिकाको इन्डोस्कोपी सेवाको सुविधा रहेको छ।
अस्पतालमा इन्डोस्कोपी नहुँदा निजी अस्पतालमा बालबालिकालाई उपचारका लागि पठाउनुपर्ने बाध्यता रहेको थियो। 'हप्ताको एक दिन मङ्गलबार मात्र इन्डोस्कोपी गर्ने गरिएको छ', डा बसौलाले भने। अस्पतालले कोलोनोस्कोपी सेवासमेत शुरू गरेको छ।
कोलोनोस्कोपीमा दिसा आउने भाग वा मलद्वारबाट पाइप छिराएर मलद्वारको भित्री अवस्था र ठूलो आन्द्राको अवस्था परीक्षण गरिन्छ।
यस्तै अस्पतालले कलेजोको बायोस्पी सेवासमेत एक महिनादेखि सञ्चालन छ। बालबालिकामा कलेजोको समस्या हुने भएकाले एक महिनादेखि सेवा शुरू गरिएको कार्यकारी निर्देशक डा बसौलाले जानकारी दिए।
कलेजको मासु बढेको, कलेजोमा केही रोग देखिएमा बालबालिकामा कलेजोको बायोस्पी गर्ने गरिन्छ।
तीन सय ३० शय्याको अस्पतालमा दैनिक ६०० भन्दा बढी बालबालिका उपचारका लागि आउने गरेका छन्। एक हजार शय्याको अति विशिष्टीकृत बाल अस्पताल बनाउने योजना रहेको अस्पतालले जनाएको छ। रासस