धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले संविधानको व्यवस्था र लोकसेवा आयोगको निर्देशन विपरित प्रतिष्ठानका कर्मचारीहरुको एक तह आन्तरिक बढुवाको तयारी गरेपछि प्रतिष्ठानकै चिकित्सक, शिक्षक तथा कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी गरेका छन्।
उनीहरुले अख्तियार सहित चिकित्सा शिक्षा आयोग, लोकसेवा आयोग, स्वास्थ्य मन्त्रालय लगायतका सरोकारवाला निकायमा उजुरी दिएको प्रतिष्ठान स्रोतले जनाएको छ। उनीहरुले दिएको उजरीपत्रमा लोकसेवाको सहमतीमा नियमावली संशोधन नभई नेपाल सरकारको ऐन विपरित प्रतिष्ठानले जारी गरेको सुचना खारेज गर्न माग गरिएको छ।
२०७४ सालमा सरकारले ऐन जारी गरेपछि प्रतिष्ठानको प्रतिष्ठानको पुरानो ऐन स्वत निष्कृय हुने भएकाले गैरकानुनी नियुत्ति र बढुवा खारेज गरी संसोधित ऐन आएपछि मात्र विज्ञापन गर्न माग गरिएको छ। उजरीमा लेखिएको छ, ‘प्रतिष्ठानको हित विपरित पदको दुरुपयोग गर्ने उपकुलपति लगायत जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गर्न पनि यहाँ समक्ष अनुरोध गर्दछौं।’
प्रतिष्ठानको संसोधित नियमावली लोकसेवा आयोगमा स्विकृतिको अन्तिम प्रक्रियामा छ। संसोधित नियमावली नआउँदै प्रतिष्ठानले भने गत पुस २० मा चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्तरिक बढुवाका लागि भन्दै प्रतिष्ठानको सूचना पार्टीमा विज्ञापन प्रकाशन गरेको थियो।
लोकसेवा आयोगले ‘संगठिन संस्थाका कर्मचारीको सेवाका शर्त सम्बन्धी कानुन, बढुवा र विभागीय कारबाही सम्बन्धी सामान्य सिद्धान्त २०७४’ अनुसार नियमावली संशोधन गरेर पठाउन पटक पटक पत्राचार गरेपनि प्रतिष्ठानले डेढ वर्षअघि मात्र संसोधित नियमावली लोकसेवामा पठाएको छ।
उक्त नियमावली आयोगबाट स्विकृति प्रतिष्ठानको सिनेट बैठकले पारित गर्नुपर्छ। त्यसपछि मात्र आयोगको परामर्श लिएर नियुक्ति, बढुवा र कारबाही गर्न सक्ने व्यवस्था छ। प्रतिष्ठानका एक कर्मचारी पदाधिकारीले मापदण्ड नपुगेका आफ्ना मान्छेको बढुवा गराउन हतारमा स्वतः बढुवा हुने गरी यस्तो सुचना प्रकाशन गरेको दाबी गर्छन्। उ
नी भन्छन्, ‘नियमावली आएपछि बढुवा हुन लोकसेवाको नियम पालना गर्नुपर्छ। त्यसो गर्दा आफुले चाहेका मान्छे पर्दैनन्। त्यसैले सेटिङमा यस्तो सूचना आएको हो।’
प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौला लोकसेवाबाट नियमावली संसोधन भएर आउन समय लाग्ने भएकाले लामो समयदेखि कार्यरत चिकित्सकको हितका लागि यस्तो सुचना निकालेको बताउँछन्। उनले प्रतिष्ठानबाट चिकित्सक, कर्मचारीहरु पलायन हुने क्रम बढेकाले बाध्यतावस यस्तो सुचना निकाल्नु परेको दाबी गर्छन्।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नियमावली स्विकृतिको प्रक्रिया अन्तिम अवस्थामा रहेको बताउँछन्। उनी भन्छन्, ‘आयोगबाट प्रतिष्ठानको नियमावली स्विकृत हुने अन्तिम अवस्थामा छ तर बीपी प्रतिष्ठानमा बढुवाको सुचना आएको भन्ने जानकारी हामीलाई पनि आएको छ। यो विषयमा आयोगमा छलफल हुन्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल भने प्रतिष्ठानको आन्तरिक कुरा भएकाले मन्त्रालयलाई खासै चासो नहुने भएपनि उजुरी परेको अवस्थामा मन्त्रालयले चासो लिने बताउँछन्।