काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो। मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री ४ जना रहेका छन्। राष्ट्रपति कार्यालयकाअनुसार मन्त्रिपरिषदको वरीयतामा प्रधानमन्त्रीपछि अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बिष्णु पौडेल दोस्रो स्थानमा छन् भने भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा छन्।
गृहमन्त्री रवि लामिछाने चौथो वरीयतामा छन् भने ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका राजेन्द्र लिङ्देन पाँचौं स्थानमा छन्। मन्त्रीमा माओवादीबाट मन्त्री बनेकी रेखा शर्मा छैठौं स्थानमा छन्। राज्यमन्त्रीको बरियतामा सुशिला सिर्पाली ठकुरी अगाडि छन्। स्वास्थ्यमन्त्री पदम गिरी १३औं स्थानमा छन् भने स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की २२ औं स्थानमा छन्।