काठमाडौं- कोशी अस्पतालमा जिवित शिशुलाई मृत घोषणा घटनाको छानबिन गर्न तीन सदस्यीय कमिटी गठन गरिएको छ। कोशी अस्पतालमा चिकित्सकले बुधबार एक शिशुलाई मृत घोषणा गरेका थिए। १८ दिनको शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै अस्पतालमा कार्यरत मेडिकल अफिसर डा आकाश यादवले मृत घोषणा गरेका थिए।
त्यसपछि आफन्तले शिशुलाई लिएर घर गएका थिए। तर शिशुले सास फेर्नुका साथै हातगोडा चलाएपछि परिवारले विराटनगरकै गोल्डेन अस्पतालम उपचारका लागि बुधबार नै लगेका छन्। शिशुको अस्पतालको एनआइसीयूमा उपचार भइरहेको छ।
उक्त घटनापछि बुधबार अस्पतालमा तनाव भएको थियो। शिशुका आफन्तले चिकित्सकमाथि दुर्व्यवहार गरेको भन्दै विरोध भइरहेको छ। शिशुका आफन्तले लापरबाहीको आरोप लगाउँदै दोषिमाथि कारबाहीको माग गरेका छन्।
अस्पतालले उक्त घटनाका विषयमा यथार्थ जानकारी लिन अस्पतालका बाल रोग विशेषज्ञ डा प्रविण झाको नेतृत्वको तीन सदस्यीय कमिटी गठन गरेको हो। बिहीबार गठन भएको उक्त कमिटीमा डा झासहित बाल रोग विशेषज्ञ डा सुर्यकान्त चौधरी र एक जना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल सदस्य रहेका छन्।