काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यतिबेला मन्त्री र राज्यमन्त्री दुवै जना सक्रिय छन्। नेकपा एमालेका सांसद पदम गिरी मन्त्रीको जिम्मेवारीमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्की राज्यमन्त्रीको जिम्मेवारीमा छिन्।
मन्त्री र राज्यमन्त्रीले पदबहाल गरेलगत्तै स्वास्थ्य क्षेत्र सुधारका चर्का भाषणसमेत गरिसकेका छन्। तर हालसम्म उनीहरुले नेपालगन्जमा फैलिरहेको दादुरा प्रकोपको नियन्त्रका विषयमा भने एक शब्द पनि औपचारिक रुपमा बोलेका छैनन्। संविधानमा रहेको मौलिक हक कार्यान्वयनमा लैजाने भन्दै मन्त्री गिरी र राज्यमन्त्री डा कार्कीले पटक पटक दोहोर्याइरहे पनि दादुरा प्रकोका विषयमा नबोल्नुले चकित बनाएको मन्त्रालयका एक कर्मचारी बताउँछन्।
'उहाँहरुलाई यो विषयमा जानकारी नभएको हो वा बुझेर पनि बुझ पचाएको हो हामीले बुझ्न सकेका छैनौं,' ती कर्मचारीले भने, 'अहिलेसम्म बुझ्दा मन्त्री र राज्यमन्त्रीले स्टन्ट गर्ने र प्रचारमा आउने शैली अपनाउन खोजेको मात्र देखिन्छ। मन्त्रालयमा आएकै दिन मन्त्रीले कान्ती बाल अस्पतालको निरीक्षण गर्न भ्याइसक्नु भयो भने बुधबार त मन्त्रालयको क्यान्टिनमा खाना खाएर फोटो सार्वजनिक समेत गरिसक्नु भयो। तर नेपालजन्जको प्रकोपका विषयमा भने किन मौन हो?'
मन्त्री र राज्यमन्त्रीका सचिवालयका कर्मचारीहरुका अनुसार उनीहरु दुवै जनालाई नेपालगन्जमा फैलिएको दादुरा प्रकोपका विषयमा जानकारी दिइएको छ। 'सम्भवत उहाँहरुले केही बुझेर सार्वजनिक रुपमा आफ्नो धारणा ल्याउनुहुन्छ होला।,' मन्त्री निकट एक कर्मचारीले भने।
नेपालगन्जसहित बाँके जिल्लामा झन्डै २ सय जनामा दादुरा देखिएको छ। जिल्लामा एकैदिन ३० जनासम्म बिरामी फेला परेका थिए।
दादुरा फैलिएपछि नेपालगन्जमा खोप कार्यक्रमलाई तीव्रता दिइएको छ।
दादुरा मिजल्स भाइरसको कारणबाट अति छिटो सर्ने संक्रामक भाइरल रोग हो। यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ। सन् २०२३ सम्ममा नेपालबाट दादुरा उन्मुलन गर्ने लक्ष्य लिइएको थियो। तर प्रकोप देखिएसँगै उक्त लक्ष्यमा असर गर्ने देखिएको छ।