दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका-२ न्वालपानीकी ईन्नरा धामीलाई बुधबार सुत्केरी व्यथा लाग्यो।
सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लैजान गाउँमा स्ट्रेचरको खोजी हुन थाल्यो। तर, कहीँ पनि स्ट्रेचर भेटिएन।
गर्भवति ती महिलालाई पिठ्युँमा बोकेर लैजाने अवस्था पनि थिएन। केही सीप नचलेपछि स्थानीयहरुले काठमा डोरी बेर्दै मान्छे अटाउने स्ट्रेचर निर्माण गरे। त्यसैमा राखेर धामीलाई वडा नम्बर २ कै भगवती स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) ठिङ पुर्याइयो।
गाउँमा स्ट्रेचर नहुँदा डोरीको स्ट्रेचर बनाएर स्वास्थ्य संस्था पुर्याएको स्थानीय प्रकाश सिंह धामीले बताए।
उनले भने, ‘गाउँमा बिरामी बोक्नलाई एउटा पनि स्ट्रेचर छैन। न त राम्रो बाटोघाटो न त सडक नै। कोही बिरामी भइहाले पनि अस्पताल पुर्याउन जोखिम मोलेर घण्टौं हिडनुपर्छ।’
न्वालापानीमा कम्तीमा ७० परिवारको बस्ती छ। उक्त बस्तीमा एउटा पनि स्ट्रेचर नहुँदा समस्या परिरहेकाे उनी बताउँछन्। 'गाउँवासी बिरामी हुँदा यस्तै सामग्री प्रयोग गर्नुपर्ने बाध्यता छ ।' उनले भने।
'एकातर्फ सडक छैन,बिजुली छैन,पिउनलाई पानी छैन,' उनले भने, 'हजारौं समस्यासँग दुर्गमका जनताले अकालमै ज्यान गुमाउनु परेको छ।' यस्तो अवस्था हुँदासमेत मालिकार्जुन गाउँपालिकाको भने कुनै ध्यान नदिएकाे उनले गुनासाे गरे।