काठमाडौं- अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी सरोकारवालाहरुले जोड दिएका छन्।
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले काठमाडौंमा आयोजना गरेको स्वास्थ्य सेवा व्यवस्थापनमा बहुक्षेत्रीय दृष्टिकोण कार्यक्रममा उनीहरुले अस्पतालमा स्वास्थ्य सेवा व्यवस्थापक जनशक्ति हुनुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा संघका महासचिव होमप्रसाद अधिकारीले अस्पतालको व्यवस्थापन पक्ष राम्रो नभएसम्म प्राविधिक समूहले मात्र गुणस्तरीय सेवा दिन नसकिने बताए। स्वास्थ्य व्यवस्थापकको अध्ययन गरेका जनशक्तिले मात्र अस्पतालको व्यवस्थापनलाई चुस्त बनाउन सक्ने उनले बताए।
उनले भने, ‘स्वास्थ्य व्यवस्थापक नै अस्पतालको व्यवस्थापनमा हुनुपर्छ। तब मात्रै अस्पतालको व्यवस्थापन चुस्त हुन्छ र अस्पतालबाट दिइने सेवा प्रभावकारी हुन्छ।’
हालसम्म १७ सय विद्यार्थीले स्वास्थ्य सेवा व्यवस्थापक अध्ययन गरेका छन्। तर अधिकाशं जनशक्तिहरु बाहिरिने गरेको भन्दै उनले नेपालमै राख्न सरकारले वातावरण बनाउनुपर्ने बताए।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले व्यवस्थापन क्षेत्रका अब्बल जनशक्तिको परिणाममुखी कामबाट नै स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले सबै जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने सन्र्दभमा सरकार र निजी क्षेत्रको समन्वय आवश्यक रहेकामा जोड दिए।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले स्वास्थ्य सेवा व्यवस्थापकले मात्र अस्पतालहरु राम्रोसँग सञ्चालन र व्यवस्थापन गर्न सक्ने बताए। अस्पताल सञ्चालकको प्रमुख जिम्मेवारी नै व्यवस्थापकको हुनुपर्नेमा उनको जोड छ। सम्बन्धित व्यक्ति भएको अस्पतालहरुले नै आफ्नो सेवाको गुणस्तरीयतामा सुधार ल्याउन सकेको उनको भनाई छ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुमगनम महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, स्वास्थ्य सेवा व्यवस्थापक संघका अध्यक्ष महेन्द्रराज भुषाल लगायतको उपस्थिति थियो।