काठमाडौं- नेपाल नेत्रज्योति संघ र हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनलका बिच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । शुक्रबार नेत्रज्योति संघको केन्द्रीय कार्यलयमा दुई संस्थाहरु बिचमा समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको हो ।
नेत्रज्योति संघका तर्फबाट अध्यक्ष प्राडा चेतराज पन्त, महासचिव भरत बहादुर चन्द र हेल्पिङ ह्याण्डका तर्फबाट अध्यक्ष नारायण श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नेपालीहरुलाई सहज तथा सर्वसुलभ रुपमा आँखा उपचार सेवा प्रदान गर्ने मुख्य उद्देश्य सहित दुई संस्थाहरुका बिचमा एमओयु भएको हो। हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनलले नेत्रज्योति संघद्धारा संचालित आँखा अस्पताल तथा आँखा उपचार केन्द्रहरुलाई निःशुल्क रुपमा चस्मा उपलब्ध गराउने छ भने संघले उक्त चस्माहरु लक्षित वर्गलाई निःशुल्क वितरण गर्नेछ।
दुई संस्थाहरुको सहकार्यबाट गरिबीको रेखामुनी रहेका नेपालीहरुले सहज र सरल रुपमा आँखा उपचार सेवा प्राप्त गर्न सक्ने अपेक्षा संस्थाहरुको छ।
नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ। संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ।
हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनल अमेरिकाको क्लोराडोमा रहेको गैर नाफामुलक संस्था हो जसले नेपालमा रहेका अल्पसंख्यक समुदायहरुको स्वास्थ्य तथा शिक्षाको स्तर सुधारको क्षेत्रमा काम गरिरहेको छ।