काठमाडौं- नेपाल मेडिसिटी अस्पतालले एक बालकलाई खोप लगाउने क्रममा लापरबाही गरेको छ। अस्पतालले १८ महिनाका एक बालकलाई म्याद गुज्रिसकेको खोप लगाइदिएको हो।
भक्तपुर लोकन्थली निवासी सौरभ भट्टराईका १८ महिनाका छोरालाई अस्पतालले माघ १ गते भ्यागुत्ते रोग, हेपाटाईटिस बीलगायतका रोगबाट बचाउने खोप (हेक्सासिम) खोप लगाइदिएको थियो। अस्पतालले बालकलाई २ महिना अगाडि नै म्याद सकिसकेको खोप लगाइदिएको तथ्य फेला परेको हो।
बालकका आफन्तले म्याद गुज्रिसकेको खोप लगाएको फेला परेपछि आवश्यक कारबाहीका लागि नेपाल मेडिकल काउन्सिलमा उजुरी गरेका छन्। बालकका बुबा सौरभले अस्पतालले गल्ती स्वीकार गरिसकेको जानकारी दिए।
'उहाँहरुले हामीसँग गल्ती भयो भन्नुभएको छ' सौरभले भने, 'खोप जस्तो विषयमा पनि यस्तो लापरबाही हुनु गलत भएकाले आवश्यक कारबाहीका लागि काउन्सिलमा उजुरी दिएका छौं।'
उनका अनुसार अस्पतालले उपलब्ध गराएको बिलमा भने सन् २०२४ मा म्याद सकिने उल्लेख गरिएको छ। तर खोप कार्डमा टाँसिएको स्टिकरमा भने खोपको म्याद सन् २०२२ को नोभेम्बरमा नै सकिएको उल्लेख छ।
'खोप कार्डमा त उहाँहरुले खोप राखिएको भाँडोबाट नै स्टिकर उप्काएर टाँस्नुभएको हो। त्यहाँ त मिति २०२२ को नोभेम्बरमा नै सकिएको उल्लेख छ,' उनले भने, 'तर अस्पतालले उपलब्ध गराउने बिलमा भने सन् २०२४ भनेर लेखियो। हामीले घर आएर हेरेपछि मात्र मिति सकिएको खोप लगाएका चाल पायौं। त्यसपछि हामीले काउन्सिलमा उजुरी दिएका हौं।'

