काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी दादुरा प्रभावित जिल्ला बाँके जाँदैछन्। स्वास्थ्यमन्त्री गिरी सहित स्वास्थ्य मन्त्रालयका अन्य महाशाखा प्रमुखहरु बाँके जान लागेका हुन्।
बाँके जाने टोलीमा स्वास्थ्य सचिव डा रोशन पोख्रेल, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह लगायतको टोली छन्। बाँकेमा दादुरा नियन्त्रणको अवस्था, खोप अभियानको अवस्था बारे बुझ्न स्वास्थ्यमन्त्री सहितको टोली आज साँझ जान लागेको डा पौडेलले जानकारी दिए।
उनले भने, ‘हामी आज साँझतिर हिड्छौ। भोलि मात्र प्रभावित क्षेत्रमा पुगिन्छ होला। त्यहाँ दादुरा नियन्त्रणको अवस्था र खोप अभियानको बारेमा बुझ्न, अवलोकन गर्न स्वास्थ्यमन्त्रीज्यू सहितको टोली जान लागेका हौँ।’
कुनै पनि प्रकोप नियनत्रणका लागि समुदायको सहभागिता र राजनीति प्रतिनिधित्वको प्रतिवद्धता आवश्यकता रहेको उनले बताए।
नेपालगञ्जमा हालसम्म २ सय, खजुरामा १८, नरैनापुरमा १५, डुडुवामा ८ र कोहलपुरमा ५ गरी २४६ जनामा दादुरा देखिएको छ। बाँके जिल्लामा हालसम्म ६८ हजार २२१ जनाले दादुरा विरुद्धको खोप पाएका छन् भने ४८ हजार ८२२ जनालाई खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।