दिपायल - डोटीको बडीकेदार गाउँपालिका–२ स्थित सामुदायिक स्वास्थ्य एकाइमा बर्थिङ सेन्टर सञ्चालन नहुँदा सुत्केरीलाई समस्या भएको छ। गाउँपालिकाको केन्द्र रहेको सो वडामा हाल पालिका स्तरीय अस्पातलसहित तीन सामुदायिक स्वास्थ्य एकाइ छन्। ती कुनैमा पनि बर्थिङ सेन्टर भने छैन।
स्थानीय तह स्थापना भएको ६ वर्ष बितिसक्दा पनि पालिकाले विकास निर्माणसँगै शिक्षा, कृषि, स्वास्थ्यलगायत क्षेत्रमा खासै ध्यान नदिएको यस क्षेत्रका नागरिकको गुनासो छ। सामुदायिक स्वास्थ्य एकाइ सडेखानमा दुई स्वास्थ्यकर्मी भए पनि बर्थिङ सेन्टर स्थापना नहुँदा सुत्केरीलाई समस्या भएको स्थानीय प्रकाश लामिछानेले बताए।
स्थानीय सरकार आएपनि नागरिकको जनजीवनसँग जोडिएको स्वास्थ्य, शिक्षा, सडक, खानेपानीलागायत क्षेत्रमा उल्लेख्य लगानी भएको छैन। दुई हजार पाँच सय जनसङ्ख्या रहेको बडीकेदार–२ मा बर्थिङ सेन्टर नहुँदा सुत्केरी सेवा लिन कैलालीको अत्तरिया र धनगढीस्थित अस्पताल धाउनुपर्ने बाध्यता छ।
बडीकेदार–२ सबैभन्दा विकट छ। यहाँ सुत्केरीलाई सडकसम्म चार घण्टा बोकेर लैजानुपर्ने बाध्यता छ। कतिपय अवस्थामा सडकसम्म लैजाँदा बाटोमै सुत्केरी हुने अवस्था भोग्नुपरेको लामिछानेले बताए। सामुदायिक स्वास्थ्य एकाइमा अनुभवी तथा तालिम प्राप्त कर्मचारी नहुँदा बर्थिङ सेन्टर सञ्चालन गर्न नसकिएको बडीकेदारका स्वास्थ्य शाखा प्रमुख खडक धामीले बताए। रासस