काठमाडौं- बाँकेमा फैलिएको दादुराको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। बाँकेमा अहिले पनि दैनिक रुपमा दादुराका बिरामीहरु फेला परिरहेका छन्।
गत २४ घण्टामा १४ जना दादुराका बिरामी फेला परेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। नेपालगञ्जमा ३, नरैनापुरमा ११ जना दादुराका बिरामी फेला परेका हुन्। आज भने खजुरा, कोहलपुर र डुडुवामा दादुराका बिरामी भेटिएनन्। अहिले दादुराका बिरामी केही घटेको जस्तो देखिएपनि नियन्त्रणमा आउन नसकेको तथ्यांकले पुष्टि गर्छ।
यो सँगै बाँकेमा कुल दादुराको बिरामीको संख्या २६० पुगेको छ। जसमध्ये ६४ जना बिरामी घरमै आइलोसनमा र ६३ जना उपचाररत छन्। हालसम्म १९६ जना बिरामी उपचारपछि निको भएका छन्।
नेपालगञ्जमा आज ११७ बालिका र १२८ बालक गरी २४५ जनालाई दादुरा विरुद्धको खोप लगाइएको कार्यालयले जनाएको छ। यो सँगै नेपालगञ्जमा खोप लगाउने बालबालिकाको संख्या ४४ हजार ६४७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी सहितको टोली आइतबार नेपालगञ्जको दादुरा प्रभावित क्षेत्रमा अवलोकनका लागि जाँदैछन्। आइतबार बिहान ८ बजे वडा नम्बर ५ फुल्टेक्रामा स्वास्थ्यमन्त्री गिरी दादुरा नियन्त्रणको अवस्था बारे बुझ्न जान लागेका हुन्।