काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले कुनै पनि बालबालिकालाई खोप लगाउनबाट नछुटाउन निर्देशन दिएका छन्।
दादुराको प्रकोपको अवस्था निरीक्षण गर्न बाँके पुगेका स्वास्थ्यमन्त्री गिरीले एकजना बालबालिका पनि खोपको दायराबाट नछुटाउन स्वास्थ्यकर्मी र सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
सबै बालबालिकालाई खोपको दायरामा ल्याउन घरदैलो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पनि उनको निर्देशन छ। यसका लागि जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, अन्य निकायले अनुकूल वातावरण निर्माण गर्नुपर्ने उनले बताए।
उनले भने, ‘९५ प्रतिशतलाई खोप लगाउन सफल भएको भनेर मलाई भन्नु भएको छ। तर एक सय प्रतिशतलाई नै खोप लगाउनुप¥यो। कुनै घर छुट्नु भएन। कुनै पनि बालबालिकालाई छुटाउनु भएन।’
बाँकेमा कतिपयले खोप लगाउन नचाहेको र नलगाएका कारण दादुराको प्रकोप फैलिएको मन्त्री गिरीले बताए। खोपको मात्रा बढाउन र खोप लगाउन त्यहाँका जनप्रतिनिधि, धार्मिक गुरु र समाजका विभिन्न निकायहरुसँग छलफल गरिएको उनले जानकारी दिए।
दादुरा नियन्त्रणका लागि कुनै पनि स्रोत साधनको कमी हुन नदिन संघीय सरकार प्रतिवद्ध रहेको उनले बताए। दादुराको प्रकोप नियन्त्रणका लागि आवश्यक निर्देशन समेत दिइसकेको उनले जानकारी दिए।
‘दादुराको प्रकोप नियन्त्रणका लागि चाहिने स्रोत साधन पूरा गर्न संघीय सरकार प्रतिवद्ध रहन्छ। कुनै पनि कमी रहने छैन।’ उनले भने, ‘दादुराको चेन ब्रेक गर्दै नियन्त्रणका आवश्यक तयारी गर्न निर्देशन दिइसकेका छौँ।’