बलेवा- धौलागिरि अस्पताल बागलुङले डायलाइसिस सेवाको क्षमता थप गरेको छ। मिर्गौला पीडितलाई निःशुल्क रुपमा डायलाइसिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो।
डायलसिस प्रक्रियामा प्रयोग हुुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन थपिएपछि सेवा विस्तार गरिएको हो। आरोपानी पर्याप्त मात्रमा उत्पादन हुँदा डायलाइसिस सेवालाई तीन चरणमा विभाजन गरेर उपचार सेवा थप गरिएको धौलागिरि अस्पतालका नर्सिङ अधिकृत तथा सूचना अधिकारी अञ्जना पौडेलले जानकारी दिए।
आरोपानीको अभाव हुँदा विगतमा दैनिक दुई चरणमा मात्रै डायलाइसिस हुँदै आएको थियो। गत मङ्सिरदेखि दैनिक तीन चरणमा डायलाइसिस सेवा प्रदान गरिएको छ। आरोपानी दुई सय ५० लिटर प्रतिघण्टा उत्पादन हुँदा दुई चरण थियो। अहिले आरोपानी प्रतिघण्टा एक हजार लिटर उत्पादन हुन्छ। डायलाइसिस मेसिन थप गर्न सके थप बिरामीको पनि उपचार गर्न सकिने सूचना अधिकृत पौडेलको भनाइ छ।
हाल अस्पतालमा ४४ जना मिर्गौलाका बिरामीले नियमित निःशुल्क रुपमा डायलाइसिस सेवा लिँदै आएका छन्। तीबाहेक पाँचजनाले उपचारका लागि पालो गर्नुपर्ने अवस्था छ। यद्यपि पालो कुर्नुपर्ने बिरामी जटिल प्रकृतिका छैनन्। उनीहरुले हप्ता वा पन्ध्र दिनमा एक पटक मात्रै डायलाइसिस गर्दै आएका छन्।
नियमित सेवाका सूचीमा रहेका बिरामीमध्ये तीनजनाले हप्ताको तीन पटक अन्यले हप्ताको दुई पटक डायलाइसिस गराउँछन्। छ मेसिनबाट दैनिक डायलाइसिस गर्दै आएको सूचना अधिकृत पौडेलको भनाइ छ। एउटा मेसिनले बेलाबेलामा काम गर्दैन। पाँचवटा मेसिन नियमित सञ्चालनमा छन्।
गण्डकी प्रदेश सरकारसँग थप डायलाइसिस मेसिनको माग गरिएको छ। अझै पाँच÷छ मेसिन सञ्चालन गर्न सक्ने आरोपानीको क्षमता रहेको उहाँले बताउनुभयो। डायलाइसिसका लागि जिल्ला बाहिरका सरकारी तथा निजी अस्पतालमा रहेका बिरामीलाई जिल्लाबाटै सेवा दिन सकिने सूचना अधिकारी पौडेलले बताए।
स्थानीय तहले पनि नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर डायलसिस मेसिन खरिद गरिदिए सेवा उपलब्ध गराउन आफूहरु तयार रहेको पौडेल बताउछन्। एउटा मेसिन खरिद गर्दा करिब रु १५/१६ खर्च हुन्छ। धौलागिरि अस्पतालमा २०७५ साल वैशाख १० गतेदेखि दुई बिरामीबाट निःशुल्क डायलाइसिस सेवा सञ्चालन गरिएको छ।
डायलाइसिसका लागि गाउँबाट आउनेलाई पहिलो चरण, सदरमुकामदेखि नजिकै रहेका बिरामीलाई दोस्रो चरण र सदरमुकाममै बसोबास गर्ने बिरामीलाई तेस्रो चरण अर्थात् साँझको समयमा डायलाइसिस सेवा उपलब्ध गराउने गरी कार्य सूची तयार गरिएको छ।
एक बिरामीको एक पटक डायलाइसिस विद्युत् र डाइलाइजर बाहेकको करिब रु दुई हजार छ सय ७० खर्च आउँछ। सरकारले उक्त रकमको सोधभर्ना गर्दै आएको छ। डायलाइसिस सेवामा पाँचजना कार्यरत छन्। उक्त जनशक्ति सेवा प्रवाहका लागि अपुग भएको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद निउरेले जानकारी दिए। रासस